प्रदेश राजधानीमा सरकारी गाडीलाई प्रवेशमा निशेष

सोमबार, ७ पौस २०८२

दाङ – लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रका स्थानीयले सरकारी गाडीहरु आवागमनमा रोक लगाएका छन् । धानखोला–लमही सडकलाई दुई लेनमै सीमित गर्ने तयारीविरुद्ध धनखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिले पुस ७ गतेदेखि पुस महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी आवागमन रोकेका हुन् ।

जनताको आवश्यकता भन्दा दातृ निकायको स्वार्थअनुसार निर्णय गरेको भन्दै स्थानीयवासिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित सबै सरकारी गाडी देउखुरी क्षेत्रमा निषेध गर्ने घोषणा गरेको धनखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले जानकारी दिए ।

विहान ९ बजेदेखि सुरु भएको प्रदर्शनमा उत्रिन सबैलाई आह्वान गर्दै शाहीले आन्दोलन कुनै दल विशेषको नभई राजधानी देउखुरीको दीर्घकालीन विकास र पहिचान जोगाउने सामूहिक प्रयास भएको बताएका छन् । “प्रदेश राजधानीलाई साँघुरो सडकमा सीमित गर्नु देउखुरीलाई योजनाबद्ध रूपमा कमजोर बनाउने कदम हो,” शाहीले भने ।

लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक निकाय ९पुरानो आरटिएस गेट० मा भेला भएर आन्दोलन सुरु गरिएको छ । समितिले सबै देउखुरीवासीलाई चार लेन सडकको दबाब सिर्जना गर्न सरकारी गाडीहरू रोक्न आह्वान गरेको छ । सडक विस्तारको विषयमा स्थानीयस्तरमा पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै नागरिकहरू असन्तुष्ट भएका छन् ।