प्रचण्डले चटक्कै बिर्सेको फुकोट !

सोमबार, ७ पौस २०८२

कहिलेकाहीँ कटक्कै मन कुडिएर आउँछ । प्रचण्डले मेरो गाउँ फुकोटलाई यसरी चटक्कै बिर्सेको देखेर । मेरो गाउँले दिएको साथ, आमाहरूको त्याग र युवाहरूको बलिदान उहाँको सम्झनामा अब अटाउन नसक्ने भएको हो कि जस्तो लाग्छ । के साच्चै कम्रेड प्रचण्डको स्मृति कम्जोर भएको हो ? कि त मेरो गाउँको साथ सहयोग र सानिध्य कम भएको हो ?

यही फुकोट, जहाँ २०५५–५६ सालतिर ‘सर्वहारा वर्गको मुक्ति’ भन्दै, दुर्गम पहाडका निमुखा युवा–युवतीहरूलाई युद्धमा होमियो । मेरो मनोस्मृमा अझै ताजा छ, जहाँ मेरा आमाजस्तै हजारौँ आमाहरूले ‘क्रान्तिकारी धेरै ठूलो मान्छे’ भन्दै रातमा नेता लुकाउने, दिनमा खाना पुर्याउने, कोपरा राखेर दिशा–पिसाब गराउने काम गरेको । किन ? किनकि प्रहरीले देख्ला, खानतलासी होला, अनि गाउँतिर “शत्रुका पाल्ती” भनेर घर जलाइदेलान् भन्ने भय थियो त्यसताका ।

ती आमाहरूको त्यागको मूल्य खोइ कम्रेड ? गणतन्त्रका फूलहरू उम्रेर फल खाने आशामा तुसारो कसले हालिदियो ? ती क्रान्तिका आमाहरूलाई भेट्न प्रचण्डको योजना कहिले के छ ? यो देशमा १७ हजारभन्दा बढी युवाले अनाहकमै ज्यान गुमाए । मेरो नै फुकोट जस्तो सानो गाउँमा २५ भन्दा बढि युवायुवतीहरू माटोमा मिसिए। कतिका सिन्दुर पुछिए, कतिका परिवार टुक्रिए, कतिका बालबच्चा बेसरा भए । कसैले कतै सहारा त पाएनन्, कसैको गासबासको ग्यारेन्टी भएन ? कसैको गाउँ घरमा प्रचण्डले आश्वासन दिए जस्तो साम्यवाद आएन ?

फुकोट त अझै पनि ढुंगामाथि बसिरहेछ, “प्रचण्डको पर्खाइमा । गाउँमा प्रचण्ड छिट्टै आउछन् र आफ्नो बलिदानी सम्झेर कदर गर्छ्न भनेर।” २०६४ देखि हरेक चुनावमा फुकोटले एकै कुरा भनिरह्यो, “हाम्रो पार्टी त माओवादी हो ।” योग्य छिमेकी, आफ्नै सालनाल नाताको मान्छे, शिक्षित–कुशल–सक्षम—उम्मेदवार किन नहोस्, फुकोटले भन्यो, “हामी त माओवादीका नाममा ज्यान दिन तयार छौं । रगतसँग भोटको सौदाबाजी गर्दैनौं । क्रान्ति हाम्रो हो।” तर अब सुन्नमा आउँछ, जसको प्रतीक्षामा मेरा फुकोटबासी बसेका थिए, उनले माओवादी नै छोडे रे !

क्रान्ति त के, बाटो नै बदले रे ! अहिले म दिग्भ्रमित छु, फुकोटका जनताले बोकिरहेको त्यो पार्टी–प्रतिको श्रद्धा, त्याग र समर्पण अब कसले बोक्ला ? कस्ले सम्झेला भनेर। फुकोटको माओवादीपन त निकै इमानदार थियो तर नेताको माओवादीपन निकै ‘कपाटदार’ रहेछ । फुकोट अझै धैर्यतापूर्वक भन्दैछ “नेपाली राजनीतिमा सबैले फेस सेभिङ गर्छन्।”

तर प्रचण्डजी ! फुकोटका आमाहरूको बलिदान कसले सेभ गर्ने ?” सत्य त यो हो, क्रान्ति गराउनेहरूको घरमा प्रगति छ, क्रान्तिमा होमिएका गाउँका घरमा त आश्वासनसम्म आएन ।

फुकोटले अझै पनि प्रश्न गर्छ, “हाम्रो गाउँ पुग्ने प्रचण्डको योजना कहिले छ ? हामीलाई सम्झने उहाँको चेतना कति बाँकी छ भनेर ।” फुकोट भन्छ हामीले माओवादीलाई मन–मत मात्र दिएको होइन, हामीले आफ्नो भविष्य, आफ्ना छोराछोरी, आफ्ना सपना सौंपियौं।तर हाम्रो सपना त राज्यले होइन, प्रचण्डको बिर्सने प्रविधिले ‘डिलिट’ गरिदिएछ।”

फुकोट आत्माग्लानी गर्छ, क्रान्ति त फुकोटमा जन्मेको थियो, तर अब केबल झुट भ्रम जन्मिँदैछ। इतिहास त फुकोटले लेखेको थियो, तर पुरस्कृत त आसेपासे पो भएछ्न।

कठैबरा ! प्रचण्डले चटक्कै बिर्सेको मेरो फुकोट ।

प्रचण्डले फुकोटलाई चट्क्कै बिर्से पनि फुकोटले प्रचण्डलाई अझै सम्झी रहने छ।

(लेखक बराल कालिकोटको रास्कोट नगरपालिकास्थित साविकको फुकोट गाविसका बासिन्दा हुन् । )