आगामी निर्वाचनमा भोट हाल्नकै लागि गाउँ जान नपर्ने

सोमबार, ७ पौस २०८२

काठमाडौं— आगामी निर्वाचनमा भोट हाल्नकै लागि गाउँ जान नपर्ने भएको छ ।

जिल्ला बाहिर रहेका र विदेशमा रहेका मतदातालाई निर्वाचनमा सहभागी गराउन सरकारले ४ वटा ऐन संशोधन गर्ने तयारी थालेको छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन, अन्तरजिल्लाबाट प्रत्यक्ष वा समानुपातिकतर्फ मतदान गर्न सकिने तथा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्पसमेत समेटेर सरकारले निर्वाचन आयोगसँगको सहकार्यमा चार वटा ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो ।

ऐन संशोधन भए भोट हाल्नकै लागि गाउँ जानुपर्ने बाध्यताको अन्त्य हुने छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सर्वोच्च अदालतको फैसला तथा विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानुन संशोधन भइरहेको जानकारी दिए।

‘वर्तमान सरकार गठन भइसकेपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने, अन्तरजिल्लाबाट प्रत्यक्ष वा समानुपातिकतर्फ मतदान गर्न सकिने तथा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्पसमेत समेटेर सरकारले निर्वाचन आयोगसँगको सहकार्यमा चार वटा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ,’ उनले भने।