आर्काडा विश्वविद्यालयको ‘अनलाइन पाथ’ कार्यक्रम असफल, मर्कामा नेपाली विद्यार्थी

बुधबार, ९ पौस २०८२

काठमाडौं – फिनल्याण्डको आर्काडा युनिभर्सिटी अफ एप्लाइड साइन्सेसले सन् २०२५ अगस्टदेखि ‘एप्लाई थ्रो अनलाइन पाथ’ नामक कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम अन्तरगत विश्वविद्यालयले इन्टरनेशनल विजनेश र मेकानिकल/सस्टेनेवल इन्जिनियरिङका कोर्षमा विश्वभरबाट भर्ना लिएको थियो ।

नेपालबाट पनि थुप्रै विद्यार्थीले यो कार्यक्रममा सहभागीताका लागि आवेदन दिएका थिए । विश्वविद्यालयले पहिलो पटक यो कार्यक्रम संचालन गरेकाले धेरैले नबुझेरै आवेदन दिएका थिए । बुझ्दै जाँदा आवेदन दिएकामध्ये आधा बढी विद्यार्थीले आवेदन फिर्ता लिए । आफैले आवेदन दिन मिल्ने यो विश्वविद्यालयमा केहीले आफै आवेदन दिएका थिए भने केहीले कन्सल्टेन्सीमार्फत सहभागी भएका थिए ।

विश्वविद्यालयले ३० ECTS (युरोपियन क्रेडिट एण्ड ट्रान्सफल अक्युमुलेशन सिस्टम) अनलाइनमार्फत अध्ययन गराएर पास भएका विद्यार्थीलाई मात्र विश्वविद्यालयमा भर्नाको अनुमति दिने व्यवस्था गरेको थियो । ३० ECTS का लागि विद्यार्थीले ९० दिन अनलाइन कक्षामा सहभागी भएर पास गर्नुपर्ने थियो । अनलाइन कोर्षमा सहभागी भएबापत विद्यार्थीले ३५ सय यूरो विश्वविद्यालयलाई भुक्तानी गर्नुपर्ने थियो । नेपालमा अनलाइन कक्षामा सहभागी भएबापत ३५ सय युरो तिर्नपर्ने भएपछि आधाबढी विद्यार्थीले आवेदन फिर्ता लिएका थिए ।

केहीले आवेदन फिर्ता लिएपनि केही विद्यार्थीले युरोप छिर्न पाइने लोभमा अनलाइन कक्षा सुरु गरेका थिए । अनलाइन कक्षामा सहभागीमध्ये केही विद्यार्थी विश्वविद्यालयको परीक्षामा अनुत्तीर्ण भए । अनुत्तीण भएका विद्यार्थीको युरोप छिर्ने सपनामा ब्रेक लाग्यो । अनुत्तीण भएर भिसा आवेदन दिन नपाएका विद्यार्थीले विश्वविद्यालयले कोटाभन्दा बढी विद्याथीलाई अनलाइन कक्षामा सहभागी गराएको, सोही कारण जानाजान फेल गराएको, कन्सल्टेन्सीले गलत सल्लाह दिदै भिसा ग्यारेन्टी गरेर भुक्याएको आरोप लगाइरहेका छन् । सोही आरोपपछि उनीहरु कन्सल्टेन्सीविरुद्ध उजुर बाजुर गरिरहेका छन् । उनीहरुको केश अदालतसम्म पुगेको छ ।

यस्तो थियो भिसा एप्लाइको प्रक्रिया

विश्वविद्यालयले अनलाइन पाथका लागि २४ जुलाईदेखि ४ अगस्ट २०२५ सम्मको समय दिएको थियो । आवेदकले सम्बन्धित देशमा जारी भएको राष्ट्रिय परिचयपत्र, वैध राहदानीको प्रतिलिपि र उच्च माध्यमिक शिक्षा पूरा गरेको कागजातहरू पेश गरेका थिए । उनीहरुको आवेदन स्वीकृत भएपछि विश्वविद्यालयले ट्युसन फि जम्मा गर्नका लागि १ हप्ताको समय दिएको थियो ।

विद्यार्थीले एनओसी बनाएर फ्लाइवेयरमार्फत विश्वविद्यालयको खातामा रकम जम्मा गरेका थिए । अनलाइन पाथका लागि ३५ सय युरो ट्युसन फि जम्मा गरेपछि विश्वविद्यालयले परिचयात्मक कार्यक्रम राखेको थियो । अगस्टको अन्तिमतिर भएको परिचयात्मक कार्यक्रममा विश्वविद्यालयका प्रोफेसरले पहिलो चरणमा तीन विषय अनिवार्य पास गर्नुपर्ने बताएका थिए । अनलाइन कोर्ष पुरा भएपछि विश्वविद्यालयले परीक्षा लिएको थियो । परीक्षामा यो कार्यक्रममा सहभागी झण्डै आधा विद्यार्थी अनुत्तीर्ण भएका थिए । अनुत्तीण भएपछि समस्या निम्तिएको हो ।

विश्वविद्यालयले तीनदेखि पाँच बर्षको स्नातक कार्यक्रममा प्रवेशका लागि दुई चरण पुरा गर्नुपर्ने नियम बनाएको थियो । पहिलो चरणका अनलाइन कोर्ष पास गरेर भिसा आवेदन दिने, दोश्रो चरणमा फिनल्याण्ड गएर क्याम्पसमै अध्ययन गर्नुपर्ने । पहिलो चरणको अनलाइन कोर्षका लागि विश्वविद्यालयले ३५ सय युरो ट्युसन फि तोकेको थियो भने दोश्रो चरणका लागि ५५ सय युरो ट्युसन फि तोकिएको थियो । दोश्रो र तेश्रो बर्ष पनि ९ हजार ५ सय युरो बुझाउनु पर्छ ।

फेल भएपछि समस्या

यो विश्वविद्यालयको नेपालका लागि आधिकारिक एजेण्ट हो जेआरके इन्टरनेशल एजुकेशन कन्सल्टेन्ट नेपाल । स्विडेनका केन्द्रीय कार्यालय रहेको यो कम्पनी नेपालको मैतिदेवि (सेतोपुलको छेउ)मा शाखा कार्यालय रहेको छ । जेआरकेको सम्पर्कमा आएर जेआरकेमार्फत आवेदन दिएका विद्यार्थीमा कुनै पनि समस्या देखिएको छैन । यो विश्वविद्यालयले एजेण्टमार्फत र आफै पनि एप्लाई गर्न मिल्ने व्यवस्था गरेको छ । कन्सल्टेन्सीको सहारा नचाहिने विद्यार्थीले आफै आवेदन दिएर विश्वविद्यालयमा अध्ययन गर्न सक्छन् भने कन्सल्टेन्सीको सहरा चाहिने विद्यार्थीहरु कन्सल्टेन्सीमार्फत यो विश्वविद्यालयसम्म पुग्न सक्छन् ।

तर, यो केशमा विद्यार्थी आफैले पनि आवेदन नदिएको र आवेदन लिने कन्सल्टेन्सी पनि आधिकारिक एजेण्ट नहुँदा विद्यार्थी मारमा परेका हुन् । विश्वविद्यालयले एजेण्टमार्फत विद्यार्थीलाई दिनुपर्ने सूचना समयमै नपुगेका कारण विद्यार्थीको परीक्षा र असाइनमेन्टमा तालमेल नमिलेको पीडित विद्यार्थीको भनाई छ । काठमाडौं डिल्लिबजारको भद्रकाली अब्रोड स्टडिले विश्वविद्यालयको सेल्प अप्लाइ गर्न मिल्ने व्यवस्थाको दुरुपयोग गर्दै विद्यार्थीलाई परामर्श दिएको थियो । आधिकारिक एजेण्ट नभएकाले परामर्श लिँदा गलत सल्लाह दिएको विद्यार्थीले आरोप लगाएका छन् ।

आफू यो विश्वविद्यालयको नेपालका लागि आधिकारिक एजेण्ट भएको र सतप्रतिशत भिसा लाग्ने बताएपछि आफूहरु अनलाइन कोर्षका लागि पैसा तिर्न तयार रहेको विद्यार्थीको भनाई छ । ‘हामीलाई पढ्नुपर्छ, कोर्ष पास गर्नुपर्छ, असाइनमेन्ट गर्नुपर्छ भनेर कन्सल्टेन्सीले भनेको थिएन । हामीलाई सतप्रतिशत भिसा लाग्ने भनेपछि ढुक्क थियौं ।’, पीडित विद्यार्थीले भने, ‘कन्सल्टेन्सीको विश्वास गर्दा हामी फसेका छौं ।’

नेपालका लागि आधिकारिक एजेण्ट जेआरकेले भद्रकाली अब्रोड स्टडि विश्वविद्यालयको आधिकारिक एजेण्ट नभएको जनाएको छ । ‘हामीलाई त विश्वविद्यालयमा विद्यार्थीले उजुरी गरेपछि मात्र यो विषय जानकारीमा आएको थियो ।’, जेआरके निकट श्रोतले भन्यो, ‘उजुरी पछि विश्वविद्यालयले हामीले भद्रकाली अब्रोड स्टडिका बारेमा अनुसन्धान गरे भनेर इमेल गरेको छ । हामीले बुझ्दा सेल्फ एप्लाई गर्ने व्यवस्था दुरुपयोग गरेर कन्सल्टेन्सीले विद्यार्थीको भिसा आवेदन गरेको रहेछ ।’

विद्यार्थीको उजुरी

भद्रकाली अब्रोड स्टडी, डिल्लिबजारबाट आवेदन दिएका ७ जना विद्यार्थीले यही शैक्षिक कन्सल्टेन्सीविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । उजुरीमा उनीहरुले विद्यार्थीमाथि भद्रकालीले धोकापूर्ण, भ्रामक र गैरजिम्मेवार पूर्ण गतिविधि गरेको आरोप लगाएका छन् । उजुरीमा गलत निर्देशन, झुटा आश्वासन र अत्यधिक दवावले १ करोडबढी रकम गुमाएको उल्लेख गरेका छन् । उनीहरुले लगाएका आरोपहरु बुँदागत रुपमा यसप्रकार छन् ।

१) अपूर्ण जानकारीसहित विश्वविद्यालयमा अनलाइन कक्षा शुल्क तिर्न बाध्य पारियो । भर्ना पाउन अनलाइन कक्षा अनिवार्य छ भन्दै हतार(हतार ३५०० युरो प्रति विद्यार्थी शुल्क तिर्न बाध्य बनाए । अनलाइन कक्षा, प्रक्रियागत मान्यता, कोर्षको स्वरूप, वा भर्ना प्रणालीबारे कुनै स्पष्ट जानकारी दिइएन । शुल्क फर्कने छैन (Non-refundable) भन्ने जानकारी पनि पछि मात्र दिइयो, जसले विद्यार्थीहरूलाई ठगिएको महसुस भएको छ ।

२) परामर्शदाताले कक्षा मात्र उपस्थित भएर नै १५ क्रेडिट पास हुन्छ र त्यसपछि स्वतः Admission Offer आउँछ भनी गलत जानकारी दिए । कुनै परीक्षा दिनुपर्ने आवश्यकता छैन, असाइनमेन्ट र कक्षा उपस्थिति मात्र पर्याप्त हुन्छ भनी बारम्बार झूटो दाबी गरियो । यसै आधारमा १००% Admission Guarantee र Visa Guarantee भन्दै विद्यार्थीलाई झुक्याइएको छ ।

३) कक्षा सुरु भएपछि परामर्श र सहयोगको अभाव, अनलाइन कक्षा सुरु भएपछि परामर्शदाताले पढाइको प्रक्रिया

– असाइनमेन्ट निर्देशन
– प्रणालीको प्रयोग

जस्ता महत्वपूर्ण कुरामा कुनै सहयोग गरेनन् । बरु ChatGPT तथा AI प्रयोग गरेर असाइनमेन्ट बनाऊ भन्ने अनैतिक सुझाव दिए, जुन शिक्षा क्षेत्रकै मर्यादाविपरीत कार्य हो ।

४) हामीले कक्षा तथा शुल्कबारे बुझ्न पूरा समय पनि नपाई, मात्र २ दिन भित्रै शुल्क भुक्तानी गर्नुपर्ने भन्दै दबाब दिइयो । नतिरे “सबै प्रक्रिया र अवसर रद्द हुन्छ” भन्ने धम्की दिए । यसले हामीलाई हतारमा ठूलो आर्थिक जोखिम मोलेर निर्णय गर्न बाध्य बनायो।

५) परिणामस्वरूप विद्यार्थीहरूको करिब रु. १ करोड बराबरको आर्थिक क्षति, शैक्षिक भविष्य अनिश्चित, मानसिक तनाव र निराशा, परिवारमा आर्थिक एवं भावनात्मक दबाब पर्यो ।

विद्यार्थीले शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग Bhadrakali Abroad Study (Dillibazar) को तत्काल छानबिन गर्न, विद्यार्थीलाई झुक्याएर ठगी गर्ने परामर्शदातामाथि कडा कानूनी कारबाही गर्न, हामीले तिर्न बाध्य पारिएको शुल्कको रिफण्डर क्षतिपूर्ति दिलाइदिन सहयोग गर्न, यस्ता परामर्शदातामाथि कडा नियमन तथा अनुगमन व्यवस्था गर्न माग गरेका छन् । साथै, कन्सल्टेन्सीले हामीलाई १००% भिसा ग्यारेन्टी र पक्का पनि भर्ना हुन्छ भनेर झूटो आश्वासन दिएको, आश्वासन पछि प्रति व्यक्ति रु. ५०० यूरो सेवा शुल्क, कागजात तयारी शुल्क, आवेदन शुल्क आदि तिरेको बताएका छन् ।

के भन्छ कन्सल्टेन्सी ?

भद्रकाली अब्रोड स्टडीले विद्यार्थीले आवेदन दिनुभन्दा अघि सबै जनाकारी दिएको जनाएको छ । भद्रकालीका फाउण्डर अनन्त कोइरालाले ३० ECTS पास गरेपछि भिसा आवेदन गर्न पाइने, अनलाइन कोर्षका लागि ३५ सय युरो र भिसा आवेदनअघि ५५ सय युरो तिर्नेपर्ने भन्दै जानकारी गराएको बताए । कोइरालाले अनलाइन कक्षा पास गराउनका लागि आफूहरुले ग्रुप बनाएर सूचना सम्प्रेषण गर्दै बेलाबेलामा पढाइमा सहजिकरण गरेको बताए ।

विद्यार्थीले लगाएका आरोपको खण्डन गर्दै उनले परीक्षामा फेल भएपछिको रियाक्सन भनेका छन् । उनले विद्यार्थीले नपढेका कारण फेल भएको बताउँदै फेल हुने विद्यार्थीको जिम्मा कन्सल्टेन्सी लिन नसक्ने बताए । ‘विद्यार्थीले तिरेको ३५ सय युरो त खेरै गयो नी । त्रिभूवन विश्वविद्यालयले फेल भएका विद्यार्थीको ट्युसन फि फिर्ता गर्छ छ ? आर्कडाले पनि फेल भएका विद्यार्थीको ट्युन फि फिर्ता गर्दैन । कन्सल्टेन्सीले पनि त्यसको जिम्मा लिदैन ।’, कोइरालाले भने, ‘उनीहरुसँगैका अरु विद्यार्थीको भिसा लागेको छ त ! पढ्ने बेलामा नपढ्ने, प्रोफेसरले दिएको असाइनमेन्ट नगर्ने, अनि फेल भएपनि कन्सल्टेन्सीलाई दोष दिएर केही हुन्न ।

विद्यार्थी स्वयमले एप्लाई गर्न मिल्ने विश्वविद्यालय भएकाले विद्यार्थीलाई सहयोगमात्र गरेको उनको भनाई छ ।

अदालतसम्मै केस ?

विद्यार्थीले शिक्षा मन्त्रालय र प्रहरीमा उजुरी दिएर दुःख दिएपछि भ्रद्रकाली अब्रोड स्टडीले अदालतको ढोका ढक्ढक्याएको छ । अब्रोड स्टडीको तर्फबाट संचालन जीवन राउत र अनन्त कोइराराले निषेधाज्ञाको उजुरीसहित उच्च अदालत पाटन पुगेर मुद्धा दर्ता गरेका छन् । उनीहरुले ७ जना विद्यार्थी र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएका छन् ।

उनीहरुको माग अनुसार उच्च अदालत पाटनले जिल्ला प्रहरी परिसरका नाममा अन्तरिम आदेश जारी गरेको छ । आदेशमा मुद्धाको किनारा नलाग्दासम्मका लागि भद्रकाली अब्रोड स्टडीका संचालकद्वय जीवन राउत र अनन्त कोइरालालाई पक्राउ नगर्न भनिएको छ । मंसिर २९ गते दर्ता भएको निवेदनमा पुस २ गते सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश दीपक खनालको इजलासले परिसरका नाममा अन्तरिम आदेश जारी गर्दै विपक्षी विद्यार्थी र परिसरलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रहरीले भद्रकालीका संचालकलाई मंसिर १७ गते र पुस ३ गते छलफलका लागि बोलाएको थियो । प्रहरीले बोलाएर दुई पक्षविच छलफल गराएको भएपनि प्रहरीले विद्यार्थीको पक्ष लिएको भन्दै उनीहरु अदालत गएका थिए ।