भाइरलको भीडमा हराउँदै वास्तविक कलाकार
कालिकोट – कर्णाली र सुदूरपश्चिम क्षेत्रका चर्चित लोकदेउडा गायक तथा शब्द/संगीत/सर्जक महेन्द्र शाही रास्कोटी पछिल्लो समय देउडा, हुड्केली र ठाडीभाका गीतमार्फत सांगीतिक क्षेत्रमा अलग पहिचान बनाइरहेका छन्। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९, लालु निवासी शाहीलाई श्रोताले ‘मध्य–सुदूरका अर्गानिक गायक’का रूपमा चिन्छन्। उनीसँग गरिएको अन्तरवार्ता ।
तपाईंको हालको अवस्था कस्तो छ ?
हाल मेरो अवस्था एकदमै ठीक छ। म निरन्तर गीत–संगीतमै लागिरहेको छु। मनैदेखि काम गरेपछि नाम, दाम र काम सबै आफैं मिल्दै जान्छन्। मेरो पेशा नै मेरो कर्म हो र म त्यसबाट पूर्ण रूपमा खुशी छु।
सांगीतिक यात्राको सुरुवात कसरी भयो ?
मेरो सांगीतिक यात्रा २०७० सालमा ‘आउन पाइन घर जो’ दशैं गीतबाट सुरु भएको हो। उक्त गीत आफ्नै जीवनसाथी आशा शाहीको नामबाट ‘आशा एल्बम’मा रेकर्ड गरिएको थियो। यही गीतले मलाई देउडा क्षेत्रमै स्थापित गरायो।
अहिलेसम्म कति गीतमा काम गर्नुभएको छ ?
अहिलेसम्म करिब ६ सयभन्दा बढी गीतमा काम गरिसकेको छु। देउडा, ठाडीभाका, देउडा खेल, देउडा भजनदेखि सामाजिक र राजनीतिक घटनामा आधारित गीतहरू छन्। कर्णाली–सुदूरका हरेक भेग र जीवनशैली समेट्ने प्रयास गरेको छु।
हुड्केली गीतमा तपाईंको योगदान के हो ?
कर्णालीको हुड्केली गीतलाई पहिलो पटक अफिसियल रूपमा रेकर्डिङ गरेर सुरुवात गर्ने काम मैले नै गरेको हुँ। आफ्नै गीत बनाएर बाजासहित रेकर्ड गरेपछि अहिले हजारौं कलाकारले त्यो शैली सिकेर गाइरहेका छन्। आज हुड्केली गीतको बजार चलेको देख्दा गर्व लाग्छ।
तपाईंका चर्चित गीतहरू कुन–कुन हुन् ?
‘आउन पाइन घर’, ‘भेट्न आउनु’, ‘जितेगडा’, ‘मैनाचडी’, ‘माल्कोटकी’, ‘राराताल’, ‘सुर्खेत राम्रो’, ‘बुलबुले ताल’ लगायत धेरै गीत चर्चित छन्। पछिल्लो समय ‘तेरी प्याटुल्ली’ निकै भाइरल भयो। ‘प्रचण्डका मुर्रा भैंसी, केपी बाको रेल’ जस्ता व्यङ्ग्य गीतले पनि राम्रो चर्चा पाए।
अहिलेको भाइरल संस्कृतिलाई कसरी लिनुहुन्छ ?
म सधैं भन्छु, गायक भाइरल होइन, सदाबहार हुनुपर्छ। अहिले भाइरलको नाममा अरूको गीत चोरेर लाइभ गाउने प्रवृत्ति बढेको छ। तर मलाई त्यसमा गुनासो छैन। कला र संस्कृति बेचेर देउडाको मौलिकता बिगारेर गायक बन्नु ठीक होइन।
महोत्सवमा कलाकार छनोटबारे तपाईंको धारणा ?
आजकल मेला–महोत्सवमा जसको पहुँच छ, पावर छ वा जो भाइरल छ, उसैलाई बोलाइन्छ। दक्ष सर्जक, मेहनती गायक र योगदान दिएका कलाकार ओझेलमा पर्छन्। यो गलत अभ्यास हो। मिडियाले वास्तविक कलाकारलाई चिनाएर अगाडि ल्याउन जरुरी छ।
पारिवारिक र सांगीतिक जीवन कस्तो छ ?
मेरो श्रीमती आशा शाही कर्णाली क्षेत्रकी पहिलो नृत्य निर्देशक हुनुहुन्छ। हामी दुवै यही सांस्कृतिक क्षेत्रमा सक्रिय भएकाले जीवन रमाइलो र सिर्जनात्मक छ। टिकटक र रिल्समार्फत पनि दर्शकले हाम्रो कामलाई निकै माया गर्नुभएको छ।
तपाईंको औपचारिक संगीत शिक्षा कहाँबाट भयो ?
धेरैजसो कर्णाली–सुदूरका कलाकार जनयुद्ध पृष्ठभूमिबाट आएका छन्, तर म त्यो धारमा पर्दिनँ। मैले भारत मुम्बईको गोरेगाउँस्थित वेस्टर्न गायन कला केन्द्र र काठमाडौंको चक्रपथस्थित आस्था कला केन्द्रबाट करिब दुई वर्ष औपचारिक गायन प्रशिक्षण लिएको हुँ।
अन्त्यमा नयाँ पुस्ताका कलाकारलाई के सन्देश दिन चाहनुहुन्छ ?
धैर्य गर्नुस्, निरन्तर कर्म गर्नुस्। भाइरल बन्न होइन, कला र संस्कृतिको संरक्षण गर्न गायक बन्नुस्। सम्मान र पहिचान आफैं आउँछ। शाहीको यो सुझाव एक्दम स्वागतयोग्य र सम्मान योग्य छ ।