उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीनबुँदे सम्झौता
काठमाडौं — उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीनबुँदे सम्झौता भएको छ ।
बुधबार एक कार्यक्रमकाबीच चुनावी एकता सम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीनबुँदे सम्झौता भएको हो ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय सर्वोदय पार्टीका अध्यक्ष ई. दीपककुमार साहबीच बुधबार भएको सहमति अनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।
कुनकुन बुँदामा भयो सम्झौता?
१.२०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र ’बलेको चिम’चुनाव चिन्हप्रयोग गरी दुवै पार्टी संयुक्त रूपमा सहभागी हुने र उमेदवारी दिने । सोको अन्तिम मनोनयन मनोनयनकर्ताको जनप्रभावकारिता, इमानदारीताको आधारमा टुंगो लगाउने ।
२. प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालन लगायत चुनावी घोषणापत्र संयुक्त रुपमै तयार गर्ने । घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय, संघीयता, समावेशीता जस्ता विषयलाई केन्द्रमा राखेर अघि बढ्ने ।
३. कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने तथा प्रगतिशिल वैकल्पिक शक्तिहरुको बीचमा समेत एकता ध्रुवीकरणको बाटो खुला राख्ने ।