तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी सरकारसामु घुँडा टेके
काठमाडौं—तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी सरकारसामु घुँडा टेकेका छन् ।
जेनजी आन्दोलनमा भएको दमनको जाँचबुझ गर्न गठित आयोगलाई वयान नदिने अड्डी कसेर बसेका ओली एकाएक वयान दिन तयार भएका छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शीर्ष नेतासहितको छलफलमा ओली सर्तसहित वयानका लागि तयार भएका हुन् । ओलीले वयानका लागि सिंहदरबार नजाने बताउँदै आयोगको टोलीलाई गुण्डु पठाउनुपर्ने सर्त राखेका थिए ।
जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगप्रति सबैभन्दा असन्तुष्ट छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। आयोग गठनदेखि नै उनले यसको औचित्य र कार्यशैलीमाथि टिप्पणी गर्दै आएका छन्।
सार्वजनिक मञ्चबाट मात्रै होइन, उनले शीर्ष तहको छलफलमा पनि आयोगको औचित्यमा प्रश्न गर्न छाडेका छैनन्। भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिँदै बालुवाटार छाडेपछि पहिलो पटक मंगलबार शीतलनिवासमा शीर्ष नेताहरूको बैठक बस्यो।
प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका नेताहरूलाई भेट्दै नभेटेको टिप्पणी भइरहेका बेला यो भेटघाटको व्यवस्था मिलाएका थिए राष्ट्रपति रामचन्द्र पौडेलले।
भेटघाटमा प्रधानमन्त्री कार्कीसहित तीन जना शीर्ष नेता अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका नवनिर्वाचित अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्रै उपस्थित थिए।
यो छलफल मुख्यगरी निर्वाचनको वातावरण बनाउने गरी आयोजित थियो।
प्रधानमन्त्री कार्कीले आफ्ना शीर्ष नेताहरूसँग छलफलै नगरेको भन्दै यी दलहरूले असन्तुष्टि जनाउँदै आएका थिए। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि पटकपटक दलहरूसँग छलफल गरे पनि यी तीन दलबाट भने दोस्रो वा तेस्रो तहका नेताहरू मात्रै सहभागी हुँदै आएका थिए।
हरेक छलफलमा उनीहरूले निर्वाचनको वातावरण नबनेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गर्थे। प्रधानमन्त्रीले आफ्ना शीर्ष नेताहरूसँग छलफल नगरी निर्वाचनको वातावरण नबन्ने उनीहरूको अडान थियो।
मंगलबार दलहरूलाई सकारात्मक बनाउन सरकारले दुई वटा काम एकसाथ गरिरहेको थियो। पहिलो, दलहरूका कार्यालयमा सरकारी टोली पठाएर। दोस्रो, शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले पहिलो पटक भेटघाट गरेर।
मंगलबार दुई मन्त्री अनिल सिन्हा र जगदीश खरेल सम्मिलित संवाद टोली तीन ठूला दलको कार्यालयमा पुग्यो। कांग्रेस मुख्यालय सानेपाबाट यात्रा सुरु गरेको टोली एमाले मुख्यालय च्यासल हुँदै नेपाली कम्युनिस्ट पार्टीको मुख्यालय पेरिसडाँडा पुग्यो।
दिउँसो ३ बजेपछि शीतलनिवासमा राष्ट्रपति, प्रधानमन्त्री र यी तीन दलका प्रमुख बसेर निर्वाचनका लागि माहोल बनाउने प्रयास गरेको राष्ट्रपतिको सचिवालयको भनाइ छ। यद्यपी शीतल निवास छलफलमा पनि संसद् पुनर्स्थापना र चुनाव गराउने दुई धार देखा परेको छ।
यो भेटघाटमा एमाले अध्यक्ष ओलीले भने आफूलाई जाँचबुझ आयोगले बयान लिन लागेको विषय पनि उठाए। यसअघि जस्तै असन्तुष्टि पोखे।
राष्ट्रपति कार्यालय सम्वद्ध स्रोतका अनुसार ओलीले चुनावी वातावरण नबनेको उल्लेख गर्दै छलफलको बीचमा भनेका थिए, ‘यो कार्की आयोगको काम छैन, किन बनाएको ? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला।’
ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने संकेत पछिल्ला दिनमा गरिरहेका थिए।
शीतल निवासमा मंगलबार राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने त्यही कुरा दोहोर्याएका हुन्।
केही दिनअघि हिमालयन टेलिभिजनमा अन्तर्वार्ता दिँदा पनि उनले यस्तै जिद्दी गरेका थिए। ओलीले भनेका थिए, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि, यत्रो कसुर गर्ने, बयान दिन नमान्ने ? नतिजा आइसक्यो जाँच दिन्नँ भन्ने ? यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्या भएन भने आजीवन थुन्दिने नि बयान नगरेबापत।’
तर सुरुमा यति कठोर रूपमा प्रस्तुत भएका उनले घरमै आए भने बयान दिने संकेत पनि गरेका थिए। घरमै आए चिया खुवाएर पठाउने, कुराकानी गर्ने, बोलचाल नै बन्द नगर्ने बताए। तर बयान भने व्यक्तिको स्वेच्छाको कुरा भएको उनले दाबी गरे।
जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ। मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्रचार गरेको छ।
लेखकले अहिलेसम्म पत्र प्राप्त नभएको बताएका छन्। पत्र प्राप्त भइसकेपछि बयान दिने-नदिने, दिए कहिले दिने भन्ने निर्णय गर्ने प्रतिक्रिया लेखकको छ। लेखकको बयानपछि ओलीलाई बोलाउने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए।