प्रधानमन्त्रीको गुनासो : काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोड्- भोलि छोड् भन्छन्

बिहिबार, १० पौस २०८२

काठमाडौंं-प्रधानमन्त्री सुशीला कार्कीले आजै राजिनामा गर भोली राजिनामा गर भनेर दवाब आएको खुलासा गरेकी छिन् ।

जेनजी आन्दोलनको जगमा उनीहरुकै समर्थनमा प्रधानमन्त्री बनेकी कार्कीले राजनीतिक दल र जेनजीहरुले सरकार छाड्न दिनरात दबाब दिएको खुलासा गरेकी हुन् ।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्कीले आफूहरू विभिन्न पक्ष समुहको चर्को दबाबले हैरानीमा परेको गुनासो गरेकी छिन् ।

कतिपय अवस्थामा काम गर्दागर्दै फ्यान्ट हुने अवस्था आएको छ। बाहिरकाले काम गरेको देख्दैन। सबै कुरा एकैचोटी होस् भन्छन्। क्षमता र तागतले भ्याउन गर्ने रहेछ। हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छ। मारले गाली गर्छ। अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ। छोडौँ भने के छोडौँ।

छोडेको भोलिपल्ट थुक्क पालो त दिएको थियो नि तिमीहरूलाई एउटा तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ के गर्‍यौ भन्ने भाष्य आउँछ। हामी त पेण्डुलम जस्तो भयौँ। त्यही पनि सकस, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ।

हुन त हामीलाई निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा। किन चाहियो भन्दा त्यो संसारको नियम र कानुन रहेछ। वैधानिकता कुरा हुने रहेछ। चुनाव नगर्ने हो भने तानाशाही रहेछन्, खान आएको रहेछ भन्छन्।

कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रो बारेमा पनि कथा लेख्नुस्। हाम्रो गृहमन्त्रीको हाल के छ त्यही लेख्नुस्, मेरो के हाल छ त्यही लेख्नुस्। अर्थमन्त्रीको त्यस्तै छ। २५ वटा ३० वटा जेनजी समूह छ। हामी मुलुक बङ्गलादेश नहोस् भन्ने सुरमा हामी छौँ।