केपी ओलीलाई चुनावमा हराउने बालेन शाहको सपना सपनामै सिमित हुने सम्भावना
काठमाडौं—केपी ओलीलाई चुनावमा हराउने बालेन शाहको सपना सपनामै सिमित हुने देखिएको छ ।
ओलीले एकछत्र मत ल्याएर जित्दै आएको गृहनगरसमेत पर्ने झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लडेर ओलीलाई हराउन बालेनको चाहना छ ।
झापा ५ मा ओलीले थालेको विकास निर्माण अभियान हेर्दा मतदाताहरु उत्साहित छन् ।
एमालेको लालकिल्ला भनेर चिनिने यो क्षेत्रमा ओली प्रधानमन्त्री भएका बेलामा बजेट खन्याएका थिए ।
झापा ५ का मतदाताले राजनीतिक प्रतिशोधका आधारमा ओली हराउन कोही आए धुलो चटाएर पठाउने बताएका छन् ।
बालेन अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । ओलीले सरकारको नेतृत्व गर्दा बालेनले निरन्तर आक्रमण गरिरहे । उनले सामाजिक सञ्जालको शक्ति देखाउँदै ओलीविरुद्ध अनफलो अभियान पनि चलाए ।
हरेक मोर्चामा उत्रिरहेका बालेनलाई मेयरको चुनाव जित्दा बालकोटमा बोलाएर उनै ओलीले तबला उपहार दिएका थिए । त्यही तबला ठोकेकै शैलीमा ओलीविरुद्ध जाइ लागिरहेका बालेन यदि उनले चाहे जस्तै झापा ५ मा चुनाव लड्लान् ? त्यो अबको केही समयका राजनीतिक घटनाक्रमले देखाउला । तर, अहिलेलाई गृहनगरसमेत रहेको झापा ५ मा ओली र एमालेको लालकिल्ला जस्तै हो ।
झापा ५ मा ओलीले थालेको विकास निर्माण अभियान हेर्दा उनले मतदाताहरूको मनोभावनालाई राम्रोसँग कब्जा गरेको पाइन्छ । यति मात्रै होइन, आफ्नो क्षेत्रका नेता व्यवस्थापनमा पनि ओली सिपालु छन् । मंसिर २६ देखि पुस पहिलो सातासम्म चलेको एघारौँ महाधिवेशनमा झापा ५ बाटमात्रै १४ जना नेता केन्द्रीय सदस्य बने । ओली त तेस्रो कार्यकाल अध्यक्ष नै भए ।
२०७२ सालमा नयाँ संविधान बनेपछि २०७४ मा निर्वाचनमा २८ हजार ८४२ मतान्तरसहित यहाँबाट प्रतिनिधि सभामा विजयी भए । ०७४ को झापा ५ मा एक लाख ३७ हजार ५४१ मतदाता थिए। जसबाट ओलीले मात्रै ९७ हजार १३९ मत पाए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा.खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याए।
२०७९ मा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बन्दा पनि ओली रक्षात्मक अवस्थामा पुग्ने अवस्था थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितले यहाँ ओलीलाई परास्त गर्न सारा रणनीति बनाए । तर परिस्थिति उल्टो भयो । ओलीको निर्वाचन क्षेत्र रहेको दमक नगरमा राप्रपाले स्थानीय तहको चुनाव जित्दा अनेक आशंका पनि गरिए । तर ओलीले त्यही राप्रपाको पनि साथ लिएर गठबन्धनलाई लोकप्रिय मतसहित घुँडा टेकाए ।
अहिले पनि ओलीले खुट्टो मात्रै उचाले पनि उनलाई जुरुक्कै बोक्न सबै तयार हुने एमाले जिल्ला सदस्य रमला भण्डारी बताउँछिन् । त्यहाँका युवा, वृद्ध, विद्यार्थी, सबैले ओलीलाई विश्वास गरेको उनी बताउँछिन ।
२०७४ को निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा बढी मत ल्याएर ओलीले जितेका थिए । २०७९ को निर्वाचनमा उनको लोकप्रिय मतलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट उछिने । २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले झापा ३ मा सघायो ।
झापा ५ मा ओलीलाई राप्रपाले साथ दियो । दुवैले निर्वाचन जिते। ०७९ को निर्वाचनमा सहकार्य त्यही थियो । एमाले–राप्रपा सहकार्यको पीडित बने कांग्रेस नेता कृष्णप्रसाद सिटौला । दुई दुई पटक लिङ्देनसँग हारेपछि सिटौलाको राजनीतिक उचाइमा पनि धक्का लाग्यो ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूको मत हेर्दा झापा ५ मा एमालेको मात्रै मत ४१ हजार ६१९ थियो।
यहाँ दोस्रो बनेको कांग्रेसको २२ हजार २२ थियो । नेकपा माओवादी केन्द्रको जम्मा १० हजार ७७८ मात्रै थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यस निर्वाचन क्षेत्रमा ८ हजार ३५३ मात्रै मत ल्यायो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक हजार ९८८ मत ल्यायो ।
दमक नगरपालिकाको प्रमुख जितेका राप्रपाका राम थापाले कांग्रेस र माओवादीसहितको गठबन्धनको बलियो साथ पाएका थिए । तर स्थानीय तहको गठबन्धन प्रतिनिधिसभामा आइपुग्दा उल्टियो । जहाँ एमाले र राप्रपा मिलेर कांग्रेस र माओवादीलाई धक्का दिए ।
ओली झापा क्षेत्र नम्बर ५ मा २०४८ सालदेखि उठिरहेका छन् । माओवादीको लहर भएको ०६४ सालमा उनी विश्वदीप लिङ्देनसँग पराजित भए । विश्वदीप अहिले कांग्रेसमा छन् ।
२०७९ मङ्सिरमा भएको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर कांग्रसेसका डा. खगेन्द्र अधिकारीलाई हराए। त्यसबेला अधिकारीको मत २३ हजार ७४३ थियो । बालेन जस्तै ओलीविरुद्ध सार्वजनिक रुपमै लेख्ने बोल्ने गर्दै आएका युग पाठक सञ्चारमाध्यममा हल्ला गरेर २०७९ सालमा झापा पुगे ।
झापा ५ मा ओली हराउने भन्दै गएका उनले जमानत जफत भएर फर्किनुप¥यो । उनले हजार भोट पनि कटाउन सकेनन् । त्यसबेला उनले ३५६ मत ल्याएर काठमाडौं फर्किए ।
झापा ५ मा चार स्थानीय तह पर्छन् । जसमा ओलीको गृहनगर दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका पर्छन् ।
यी चार स्थानीय तहमध्ये एमालेले गौरादहमा मात्रै प्रमुख जितेको थियो । अन्य तीन स्थानीय तहमा गठबन्धनका उम्मेदवारले जिते ।
गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिका अध्यक्ष पनि कांग्रेसकै छन्। कमलको उपाध्यक्ष एमालेले जितेको थियो । गौरादहमा एमालेका अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका छन् ।
ओलीको गृह क्षेत्र दमकमा राप्रपाले मेयर जितेको छ । उपमेयर कांग्रेसले जितेको छ। यहाँ एमालेले सातवटा वडा जितेको छ । कांग्रेसले दुईवटा र एउटा राप्रपाले जित्यो ।
यी सबै स्थानीय तहको मत हेर्दा एमाले अहिले पनि बलियो नै देखिन्छ । यो निर्वाचन क्षेत्रमा २९ वटा वडा छन्, जहाँ स्थानीय तह निर्वाचनमा एमालेले १८ वडा जितेको थियो।