पटकपटक सांसद र केन्द्रीय सदस्य भएकालाई एमालेले समानुपातिक सुचिमा नहाल्ने

शनिबार, १२ पौस २०८२

काठमाडौं – नेकपा एमालेले फागुन २१ मा निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार पार्दै गर्दा नेता कार्यकर्ताले अहिलेसम्म मौका नपाएका र जनमत आकर्षित गर्न सक्ने व्यक्तिलाई छान्न नेतृत्वसमक्ष सुझाव दिएका छन् ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै नेताहरुले सुझाव दिएका छन् भने भेट्न नपाउनेले सामाजिक संजाल र आफ्नो कमिटीमार्फत दबाब बढाएका छन् । केन्द्रीय सदस्यमा समेटिन नसकेका सक्षम,योग्य र जनाधार भएका तथा अहिलेसम्म मौका नपाएकालाई प्राथमिकतामा राख्न समेत सुझाव आएको एमालेले जनाएको छ ।

संगठन विभाग प्रमुख भएकै बेला पार्टीको कार्यकारी भूमिकाबाट विदा भएका नेता काशीनाथ अधिकारीले एकपटक मनोनित सांसद भइसकेकालाई फेरि समानुपातिकमा नपार्न आग्रह गरेका छन् ।

अधिकारी भन्छन्– २०४७ साल पश्चात एकपटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुनः दोहोर्याउने काम नगरौं । कम्तिमा नेकपा९एमाले०ले नगरोस् । एकजनालाई जीवनमा एकपटक मात्र मनोनित सांसद हुने अवसर प्राप्तहोस् । त्यो पनि न्यायोचित र उपयुक्तताको आधारमा होस् । पार्टीमा पदरअवसरका लागि थिती बसोस् भन्ने मेरो बिशेष आग्रह छ ।

अधिकारीको सार्वजनिक आह्वानलाई एमालेका धेरै नेता कार्यकर्ताले समर्थन गर्दै सामाजिक संजालमा शेयर गरेका छन् । अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र झापा ५ का नेता तथा पूर्व मन्त्री देवेन्द्र दाहालले पनि समानुपातिक उम्मेदवार छान्दा ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

दाहाल भन्छन्– पटक पटक सांसद भैसकेका व्यक्तिहरुनै समानुपातिकका लागि र राष्ट्रिय सभाको लागि दौडिरहेको देख्छु । समानुपातिक र राष्ट्रिय सभामा नयाँ र फ्रेस व्यक्तिबाट विज्ञ अनि कानूनका ज्ञाता र बुद्धिजिवीलाई राख्नु जरुरी छ ।

आफ्नो जिल्ला पालिका र भूगोलमा जनमत आर्जन गर्न नसकेको र समुदायमा समेत स्थापित हुन नसकेका व्यक्तिहरु केही नेतामार्फत शीर्ष नेतृत्वमा पहुँच बनाउँदै केन्द्रीय सदस्य र सांसद पद हत्याउने प्रवृति बढेपछि एमालेमा त्यस्ता व्यक्तिलाई समानुपातिक र राष्ट्रिय सभाको मौका नदिन दबाब बढेको हो ।