राप्रपासँग एकतापछि थापाको गुनासो : गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भने
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । बुधबार काठमाडौंमा एकता घोषणासभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वर्षौंपछि घर फर्किएको अनुभूति भइरहेको बताए । मलाई आज घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कंदाखेरी जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ, थापाले भने ।
०७८ सालको महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट एक्लै अलग्गिए पनि देशभरको संगठनसहति घर फर्किएको उनको भनाइ छ । वास्तवमा २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर गएको थिएँ खुसीले होइन । मन रोइरोई एक्लै अलग भएको थिएँ, थापाले भने ।
आफूमाथि गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको दाबी गरे ।
मान्छेहरूले गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भनेर आरोप पनि लगाए । हारेर भाग्यो पनि भने तर यी सबै आरोपहरूमा कुनै सत्यता छैन,थापाले भने ।
इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै उनले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । ०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेका थिए । चार वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः राप्रपामा फर्किएका हुन् ।