३० लाख रुपैयाँ जमानत तिरेर रवि लामिछानेलाई छुटाउने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा

बुधबार, १६ पौस २०८२

काठमाडौं—३० लाख रुपैयाँ जमानत तिरेर रवि लामिछानेलाई छुटाउने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा परेका छन्।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपैयाँ जमानत दिएका थिए।

लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार बिगो बराबरको रकम जमानत राख्दा मनोहर प्रधानले ३० लाख जमानत बुझाएका थिए ।

उनै प्रधान रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको आदिवासी जनजाति पुरूषतर्फ चौथो नम्बरमा परेका हुन् ।

जबकि, रास्वपाले समानुपातिक उम्मेदवार चयनका लागि गराएको प्राइमरी निर्वाचनमा प्रधानले ८ हजार २ सय ९२ मतसहित १७औं स्थानमा हात पारेका थिए ।

आदिवासी जनजाति क्लस्टरमा प्रधानभन्दा दोब्बर मत ल्याएर सूचीको एक नम्बरमा परेका उत्तमबहादुर गुरूङ रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाटै बाहिरिएका छन् ।

समानुपातिक सूचीमा परेका प्रधान पेसाले डाक्टर हुन्। उनी रास्वपाको बागमती प्रदेश सल्लाहकार थिए।

प्रधानले रवि लामिछानेलाई आफूले व्यक्तिगत रूपमा ३० लाख रूपैयाँको ग्यारेन्टी बसिदिएको स्वीकार गरे। तर समानुपातिक सूचीमा पर्नु र नपर्नुमा त्यसको कुनै साइनो नभएको उनको तर्क थियो।

पैसाले समानुपातिक उम्मेदवार हुने भए अरू धेरै हुने थिए होलान्, मनोहर प्रधान नै किन हुन्थ्यो ? प्रधानले भने, ३० लाखमा पाउने भए त हजारौं मानिस हुन्थे होलान्। मैले विशुद्ध आफ्नो व्यक्तिगत खाताबाट जतिसक्दो तन, मन र धनबाट सहयोग गरेको हुँ। मैले ३० लाख ग्यारेन्टी दिने बेला जेनजी आन्दोलन हुन्छ, सरकार ढल्छ र म समानुपातिकमा जाऊँला भनेर दिएको होइन।

उनले चितवनमा आफ्नै क्षेत्रको सांसद भएकाले लामिछानेलाई सहयोग गरेको बताए।

२०८४ अघि चुनाव हुन्छ भनेर सहयोग गरेको होइन, प्रधानले भने, आदिवासी जनजातितर्फ मेरो बागमती प्रदेशमा सबभन्दा धेरै मत आएको छ। म नेपालभरिमा आदिवासी जनजातिमा पुरूषतर्फ तेस्रो हो।

तर रास्वपाले सार्वजनिक गरेको ९ जनाको सूचीमा दुई जना मात्र पुरूष (उत्तमबहादुर गुरूङ र मिलन लिम्बू) को नाम उल्लेख छ। उक्त सूचीमा प्रधानको नाम उल्लेख थिएन।

लामिछानेले २०७९ को निर्वाचनपछि चितवनमा मोबाइल क्लिनिक सञ्चालनमा ल्याउँदा पनि प्रधानले सहयोग गरेका थिए।

आफू २५ वर्षदेखि चिकित्सा पेसामा रहेको र रास्वपाले समानुपातिक उम्मेदवार छनौटमा अपनाएका मापदण्ड पूरा गरेर छनौट भएको प्रधानले दाबी गरे।

म बोल्नै नजान्ने मान्छे होइन। ४७ जना उम्मेदवारमा परेको हो, उनले भने, म प्राध्यापक भएकै १७ वर्ष भयो।

रास्वपाको समानुपातिक सूचीमा नपरेका सबभन्दा धेरै मत ल्याउने गुरूङले भने पार्टीले अन्तिम चरणमा कुलमान घिसिङ र बालेन शाहसँग सहमति गरेका कारण सूचीमा आफ्नो नाम नपरेको हुनसक्ने बताए।

अहिले किन नाम परेन भनेर पार्टीले अध्ययन गर्दैछ, सुदूरपश्चिम प्रदेशका गुरूङले भने, हतार हतार निर्णय गर्दा अर्कै पर्न गयो कि भन्ने कुरा आइरहेको छ। पार्टीको प्रदेश समितिले चासो दिएर केन्द्रका नेताहरूसँग कुराकानी गरिरहेको छ।