१५ बर्षदेखि निरन्तर व्यवसायीको सेवामा भुसाल, अब अध्यक्ष भएर सेवा गर्ने हुटहुटी
काठमाडौं – नेपालको शैक्षिक परामर्श व्यवसाय निकै अस्थिर, तरल र समस्याग्रस्त छ । स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सल्लाह दिन तथा सहयोग गर्न स्थापित यो क्षेत्र कहिले नेपाल सरकारको हेपाह प्रवृत्ति त कहिले गन्तव्य देशले ल्याउने नीतिबाट प्रभावित हुन्छ । बेलाबेलामा हुने भिसा नीति परिवर्तनले पनि व्यवसायीहरु हैरानीमा पर्ने गरेका छन् ।
भिसा नलागेपछि विद्यार्थी र अभिभावकले दिने तनाव, विश्वविद्यालयले विद्यार्थीको ट्युसन फि फिर्ता नगर्ने, फिर्ता गर्ने भएपनि समयमै ट्युसन फि फिर्ता नगर्ने, भारतबाट आएका विचौलियामार्फत व्यवसायीमाथि हुने हैरानी र ठगी, व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धा, विदेशी विश्वविद्यालय तथा कलेजको सिण्डिकेट, मास्टर एजेण्टबाट हुने धोका तथा समयमै कमिसन नपाइने लगायतका कारण शैक्षिक परामर्श क्षेत्र अस्थिर, तरल र समस्याग्रत छ । यही अस्थिर बजारलाई लिएर स्वार्थ केन्द्रीत सोच भएका नेपाली र विदेशी व्यक्ति, समूह र संस्थाले आफ्नो हितमा प्रयोग तथा दुरुपयोग गरिरहेका छन् ।
माथिका हैरानी र समस्यासँग इक्यानमार्फत विगत १५ बर्षदेखि निरन्तर जुधिरहेका छन् दीपकराज भुसाल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को वर्तमान कार्यसमितिका महासचिव भुसाल व्यवसायीको समस्यालाई नजिकबाट नियाल्दै समस्या समाधानका लागि निरन्तर सहयोग र साथ दिदै आएका छन् । १५ बर्षदेखि भुसाल नेपाली शैक्षिक परामर्श क्षेत्रको विकास, संघर्ष र रूपान्तरणका लागि निरन्तर संघर्षमा छन् । उनै भुसाल यी समस्या समाधानको नेतृत्व गर्न, व्यवसायीलाई मयार्दित, अनुशासित बनाउन र परामर्श व्यवसायलाई इज्जतदार बनाउन इक्यानको अध्यक्षका लागि चुनावी मैदानमा होमिएका छन् ।
लामो समयदेखि बागबजारस्थित इनलाइटेन इन्टरनेशनल एजुकेशन सञ्चालन गर्दै आएका भुसाल शैक्षिक परामर्श व्यवसायमा चाहिने सबै सीपसँगै नेतृत्व क्षमताबाट पोक्त छन् । उनले विद्यार्थी र अभिभावकका सपना, डर, आशा र अन्योलता सुन्दै सहि परामर्श र मार्गदर्शनका साथ पेशागत जीवनको सुरुवात गरेका थिए । ‘विद्यार्थीहरू फरक पृष्ठभूमि, फरक क्षमता र फरक आर्थिक अवस्थासहित परामर्श सेवा लिन आउँछन् । कसैका लागि विदेश अध्ययन अवसरको ढोका हुन्छ भने कसैका लागि जोखिमपूर्ण निर्णय पनि हुन सक्छ। त्यसैले हतारमा निर्णय गराउनु भन्दा विद्यार्थीको अवस्था बुझ्न समय दिनुपर्छ भन्ने लाग्छ ।’, उनी भन्छन्, ‘यही जिम्मेवारीबोधले मलाई परामर्श शैलीलाई फरक बनाउन प्रेरित गर्यो र व्यवसायभन्दा माथि उठेर व्यवसायी साथीहरुको हितमा सोच्न बाध्य बनायो ।’
![]()
लामो समयसम्म यही क्षेत्रमा सक्रिय रहँदा भुसालले शैक्षिक परामर्श क्षेत्रका उज्यालो र अँध्यारा दुवै पक्ष देखेका छन् । कतिपय अवस्थामा नीतिगत अस्पष्टताका कारण विद्यार्थी र परामर्शदाता दुवै समस्यामा परेमा परेको देख्दा उनलाई ऐठान हुन्छ । केही गलत अभ्यासका कारण समग्र क्षेत्रको छविमा नकारात्मक प्रभाव पर्दा उनी घोत्लिन्छन् र परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन अध्ययन र अनुसन्धानमा केन्द्रीत हुन्छन् ।
यसरी विद्यार्थी र व्यवसायीका समस्यासँग उनी वि.सं २०६६ सालदेखि जुधिरहेका छन् । इक्यानको अतिरिक्त विभाग समितिको सदस्य बनेर भित्री संरचना, निर्णय प्रक्रिया र संगठनात्मक संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाएका भुसाल संघको नेतृत्व गर्ने ठाउँमा पुगेका छन् । राजेन्द्र बराल अध्यक्ष र प्रकाश पाण्डे महासचिव भएका बेला इक्यानमा जोडिएका भुसाल उनीहरुकै प्रेरणा, शाहस र आत्मविश्वासलाई सिरोधार्य गर्दै आफूलाई परिपक्क बनाए र नेतृत्व विकासमा जोड दिए ।
विसं २०७२ सालमा पहिलो पटक निर्वाचित कार्यसमिति सदस्य बनेका भुसाल अतिरिक्त विभाग प्रमुख भएर जिम्मेवारी सम्हाल्दै विभिन्न गतिविधि गर्न सफल भए । कम खर्चमा धेरै सदस्यको सहभागिता सुनिश्चित गर्ने र संघलाई सबैको साझा घर बनाउने प्रयासले संगठनभित्र उनीमाथि विश्वसनीयता बढ्दै गयो। विसं २०७५ सालमा भएको निर्वाचनमा भुसाल प्रथम सचिवको जिम्मेवारीसहित संघको प्रशासनिक व्यवस्थापन, कार्यक्रम सञ्चालन, आर्थिक पारदर्शिता र राज्यसँगको संवादमा सक्रिय बने ।
भृकुटीमण्डपमा सम्पन्न विशाल शैक्षिक मेला उनको कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित भयो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथि र अस्ट्रेलियन राजदूत विशिष्ट अतिथि रहेको उक्त मेलाबाट संघले उल्लेखनीय आर्थिक आम्दानी गर्न सफल भयो। कार्यक्रम व्यवस्थापनबाट करिब २३ लाख रुपैयाँ र ब्रिटिस काउन्सिलबाट १५ लाख रुपैयाँ गरी कुल ३८ लाख रुपैयाँ आम्दानी हुनु इक्यानको आर्थिक आत्मनिर्भरताको दिशामा ठूलो उपलब्धि मानिन्छ। यसले संघ केवल माग राख्ने संस्था होइन, आफू पनि स्रोत व्यवस्थापन गर्न सक्ने सक्षम संगठन हो भन्ने सन्देश दिएको थियो।
यही अवधिमा भुसालले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिगत अस्पष्टताको विषयमा संघको तर्फबाट सक्रिय पहल गरे । करिब ८० भन्दा बढी मन्त्री, सांसद, शिक्षा समितिका सभापति तथा सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापनपत्र बुझाउने कार्य संघको इतिहासमै सबैभन्दा व्यापक नीतिगत संवादका रूपमा लिइन्छ। यस पहलले शैक्षिक परामर्श क्षेत्रलाई राज्यको नजरमा जिम्मेवार सरोकारवालाको रूपमा स्थापित गर्न सहयोग गर्यो।

विसं २०७६ को अन्त्यतीर सर्वसम्मत महासचिव बनेका भुसाल दोस्रो कार्यकालमा निर्वाचन प्रक्रियामार्फत निर्वाचित भएर संगठनभित्रको स्वीकार्यता र भरोसा प्रमाणित गरे । सहमति र लोकतान्त्रिक दुवै प्रक्रियाबाट आएको नेतृत्वले उनीमाथिको विश्वास अझ बलियो बनायो। महासचिवको भूमिकामा रहँदा भुसालले संघलाई आर्थिक, प्रशासनिक र संगठनात्मक रूपमा स्थिर बनाउने प्रयासलाई प्राथमिकता दिए । विश्वव्यापी महामारीजस्तो कठिन समयमा पनि संघको गतिविधि निरन्तर रहनु, सदस्यहरूलाई सहयोग पुर्याउनु र संघको आवाज राज्यसम्म पुर्याउनु उनको नेतृत्व क्षमताको परीक्षण थियो।
कोभिड–१९ महामारीका बेला शैक्षिक परामर्श क्षेत्र अत्यन्तै संकटमा पर्यो। कार्यालय बन्द, भिसा प्रक्रिया रोकिएको अवस्था र आर्थिक दबाबका बीच भुसालको नेतृत्वमा इक्यानले सहयोग कक्ष सञ्चालन, सहुलियत ऋणको पहल, अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय र सयौँ भर्चुअल कार्यक्रम सञ्चालन गर्यो। यसले सदस्यहरूलाई मानसिक र पेशागत रूपमा जोडिराख्न महत्वपूर्ण भूमिका खेल्यो।
भुसालको दृष्टिमा शैक्षिक परामर्श क्षेत्र साधारण व्यवसाय होइन। यो विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र देशको मानव संसाधनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। त्यसैले उनी न त अन्धाधुन्ध स्वतन्त्रताको पक्षमा छन्, न त अव्यवहारिक नियन्त्रणको । स्पष्ट नीति, व्यवहारिक नियम र उच्च नैतिक मापदण्डको संयोजनमार्फत मात्र यो क्षेत्र दीर्घकालीन रूपमा स्वस्थ रहन सक्छ भन्ने उनको विश्वास छ।
उनका अनुसार शैक्षिक परामर्श सुधारिनु भनेको केवल परामर्शदाताको हित सुरक्षित हुनु मात्र होइन, विद्यार्थी र अभिभावकको विश्वास जोगिनु हो। उनी प्रायः भन्छन्, “हामीले विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, सुरक्षित भविष्यतर्फ डोर्याउने काम गर्नुपर्छ।” यही सोचले उनलाई संघीय भूमिकामा नीतिगत संवाद, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन प्रेरित गरेको छ। उनै भुसालले आगामी कार्यसमितिका लागि आफूलाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । उनले यो पटक पनि व्यवसायीको साथ पाएर सानदार विजय हासिल गर्ने अपेक्षा राखेका छन् ।