रास्वपाको समानुपातिक सूची नसच्याए भोट नहाल्ने जेनजी युवाहरुको चेतावनी

बिहिबार, १७ पौस २०८२

काठमाडौं—जेनजी युवाहरुले रास्वपाको समानुपातिक सूची नसच्याए भोट नहाल्ने चेतावनी दिएका छन् ।

रास्वपाको समानुपातिक सूचीले नातावाद–कृपावाद र नेपो बेबीविरुद्ध गरिएको आन्दोलनको धज्जी उडाएको भन्दै त्यसलाई नसच्याए आगामी निर्वाचनमा भोट नहाल्ने चेतावनी दिएका हुन् ।

रवि, बालेन र कुलमानले समानुपातिक सूचीमा आ–आफ्नो मान्छे सिफारिस गरेको भन्दै जेनजी अभियान्ता तनुजा पाण्डे, रक्षा बम, माजिद अन्सारी र भावना रावत लगायतले समानुपातिकमा अन्धाधुन्ध भोट नहालिने बताएका हुन् । रास्वपा नसच्चिए प्रत्यक्षमा पनि उम्मेद्वार हेरेर भोट हाल्ने उनीहरुको धम्की छ ।

नयाँ दलले फरक गर्छ भनेर भरोसा दिलाउँदै गर्दा कुनै योगदान नभएका व्यापारिक घरानालाई प्राथमिकता दिनु कांग्रेस–एमालेसरह भएको उनीहरुको तर्क छ ।

जेन–जीहरुले समानुपातिक प्रणालीको धज्जी उडाउँदै पिछडिएको वर्गलाई समेट्न नसक्नु अर्को ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । उनीहरुले यस सूचीलाई नसच्याइ निर्वाचनमा गए समानुपातिकमा भोट नहाल्ने चेतावनी दिएका छन् ।

तनुजा पाण्डेले रास्वपाले पुराना दलकै सिको गरेको आरोप लगाएकी छिन् । समानुपातिकमा लोकप्रियता, पहुँच र चिनजानलाई प्राथमिकता दिएपछि पुरानो र नयाँमा कुनै फरक नदेखिएको उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् – ‘प्रतिनिधि सभामा फरक–फरक पृष्ठभूमिका व्यक्तिहरू आउँदा लोकतन्त्र बलियो हुन्छ । विभिन्न जात, वर्ग, क्षेत्र र अनुभव भएका व्यक्तिहरूको सहभागिता विशेष महत्व राख्छ । तर, निर्वाचन प्रणालीको मूल भावना र उद्देश्यलाई उल्लघंलन गर्दै व्यक्तिगत वा पार्टीगत लाभका लागि अनैतिक रूपमा प्रतिनिधि सभामा आउनु अस्वीकार्य छ ।

समानुपातिक प्रतिनिधित्व प्रणाली ऐतिहासिक रूपमा पछाडि पारिएको वर्ग र समुदायका संघर्ष र आफ्नो ज्यानको बलिदानमार्फत स्थापित गरिएको हो । यस प्रणालीलाई नाम, पैसा वा शक्ति प्राप्तिको माध्यम बनाउन दिनु हुँदैन । हिजो डा. आरजु राणा देउवा जस्ता व्यक्तिहरू समानुपातिकबाट संसदमा आउँदा लज्जास्पद थियो ।

आजका केही नयाँ भनिएका पार्टीहरूले त्यही प्रवृत्ति दोहोर्‍याउँदै समानुपातिकको मूल भावनालाई कमजोर पार्नु दुःखद छ । यदि पुराना वा नयाँ भनिएका पार्टीहरूले समानुपातिक सूचीमा लोकप्रियता, पहुँच र चिनजानलाई प्राथमिकता दिन्छन् भने पुरानो र नयाँ पार्टीमा कुनै फरक रहँदैन । यद्यपि, धेरै जेन–जी र वैकल्पिक शक्तिका साथीहरूले पनि उद्यमी, प्रभावशाली र सामाजिक दृष्टिले सक्षम नेपो किड हरूको स्वागत गरेको देख्दा खुशी लाग्यो ।

हिजो आर्किटेक मिस नेपाल श्रृङ्खला खतिवडाको राजनीतिक आकांक्षालाई मजाकको रूपमा उडाइरहेका साथीहरूले आज मिस नेपाल अनुष्का श्रेष्ठलाई राजनीतिमा स्वागत गरेको देख्दा अझै धेरै खुशी लाग्यो । यस देशमा मानुषी यमी भट्टराई, श्रृङखला खतिवडा, विदुषी राणा, अनुश्का श्रेष्ठ, सुहाङ नेम्वाङ, सृष्टि सिंह श्रेष्ठजस्ता पात्रहरू छन् । जससँग स्रोत साधन, पुस्तान्तरीय सुविधा प्राप्ति मात्र हैन, बौद्धिकता, नेतृत्व क्षमता, सामाजिक योगदान र नैतिकता पनि उच्च स्तरको छ ।

यस्तो प्रतिभालाई मान्यता दिनु आवश्यक छ अनावश्यक घृणा र इष्र्याले कसैलाई फाइदा पुर्‍याउँदैन । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत योग्य व्यक्तिहरूलाई प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्नुपर्छ । तर, शक्ति आर्जनको प्रक्रिया होर्डिङ र पहुँचमा आधारित बन्नु हुँदैन । समानुपातिकको मूल भावनालाई सधैं प्राथमिकता दिनु जरुरी छ ।’

‘प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत योग्य व्यक्तिहरूलाई प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्न प्रोत्साहित गर्नुपर्छ । तर, शक्ति आर्जनको प्रक्रिया होर्डिङ र पहुँचमा आधारित बन्नु हुँदैन । समानुपातिकको मूल भावनालाई सधैं प्राथमिकता दिनु जरुरी छ ।’

त्यसैगरी, सुदूर सधैँ दुर ? रक्षा बम प्रश्न गर्छिन् । समानुपातिक प्रणालीलाई पसल र भर्तीकेन्द्रको संज्ञा दिँदै उनले सुदूर यहि देशको मानचित्रमा पर्ने सम्झाएकी छिन् । उनी लेख्छिन्– ‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो । निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो ।

दुखद कुरा चैँ, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् । र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो ।

यसैबीच, मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन ।

यतिखेर म आफ्नो भूगोलबाट टाढा छु । रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस् । बिहान चियासँग सुख र समृद्धि पुकार्दै खाउँला । तर हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौं । यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।’