नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहो¥याइयो

शुक्रबार, १८ पौस २०८२

काठमाडौं — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ ।

शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि महाधिवेशन नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको उल्लेख गरे ।

पछिल्लो विशेष राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ, गतिशील र जनभावनाअनुरूप बनाउन तथा समसामयिक नीति निर्माणका लागि महाधिवेशन अपरिहार्य भएको उनीहरूको धारणा छ ।

उनीहरूले पार्टी विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्न वा विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न केन्द्रीय कार्यसमितिसँग पटक–पटक माग गर्दै आएको बताए ।

तर, महाधिवेशन आयोजनामा निरन्तर ढिलाइ र उदासीनता देखिएको आरोप लगाए ।

प्रतिनिधिहरूका अनुसार गत असोज २९ गते देशभरका २ हजार ४८८ जना, अर्थात् ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

यो व्यवस्था विधानअनुसार बाध्यकारी भएको उनीहरूको भनाइ छ । तर, केन्द्रीय कार्यसमितिले उक्त मागलाई औपचारिक एजेन्डासमेत नबनाएको उनीहरूले गुनासो गरे ।

केन्द्रीय समितिको ४८ दिनसम्म चलेको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भए पनि त्यसको कार्यान्वयन हुन नसकेको प्रतिनिधिहरूले बताए ।

घोषित मितिअनुसार पौष १६ मा हुनुपर्ने वडा अधिवेशन समेत हुन नसकेको र अन्ततः १५औँ महाधिवेशनका कार्यक्रम स्थगित भइसकेको उनीहरूको दाबी छ ।

पत्रकार सम्मेलनमा उनीहरूले भने, ‘घोषित मितिमा महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो चेतावनी थियो । अब १५औँ महाधिवेशन नहुने स्पष्ट भइसकेकाले विशेष महाधिवेशन अपरिहार्य भएको छ ।’

उनीहरूले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको भन्दै यसलाई कसैको इच्छा वा छनोटको विषय बनाउन नहुने बताए ।

पार्टी विधानभन्दा माथि कोही नरहेको र विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु नेतृत्वको न्यूनतम जिम्मेवारी भएको उनीहरूको जोड छ ।

त्यसैगरी, विधानले तोकेको तीन महिनाको समयसीमाभित्र अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आगामी पौष २७–२८ गते विशेष महाधिवेशन आयोजना गर्न केन्द्रीय नेतृत्वसँग पुनः माग गरेका छन् ।

उनीहरूले यो मागलाई कसैको जित–हारको रूपमा नलिन आग्रह गर्दै पार्टीको एकता, आन्तरिक लोकतन्त्र र जनताप्रतिको जवाफदेहिता मजबुत बनाउने अवसरका रूपमा ग्रहण गर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।