ट्रम्पले भने– अन्य देश पनि सचेत रहून्, यो यहीँ रोकिँदैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपति निकोलस मादूरोलाई कब्जामा लिएपछि अन्य देशलाई समेत धम्की दिएका छन् ।
ट्रम्पले कोलम्बियासहित अन्य देशहरूलाई कडा सन्देश दिँदै आवश्यक परे सैन्य कारबाही हुन सक्ने बताएका छन् ।
सीएनएनको रिपोर्टअनुसार ट्रम्पले हालैको वक्तव्यमा अमेरिकाको राष्ट्रिय हित, सुरक्षा र क्षेत्रीय स्थायित्वलाई खतरामा पार्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन् ।
फ्लोरिडाबाट फर्किने क्रममा पत्रकारसँग कुरा गर्दै उनले अरु देशमाथि पनि सैन्य कारबाही हुन सक्ने बताए ।
ट्रम्पले भने– केही देशहरूले हामीलाई कमजोर ठानिरहेका छन् । यो ठूलो भूल हो । अमेरिका आफ्ना नागरिक र हितको रक्षा गर्न सबै विकल्प प्रयोग गर्न तयार छ ।
उनको यो अभिव्यक्तिलाई कोलम्बियातर्फ लक्षित चेतावनीका रूपमा हेरिएको छ ।
सीएनएनका अनुसार पछिल्ला हप्ताहरूमा कोलम्बियामा लागूऔषध तस्करी, सशस्त्र समूहको गतिविधि र क्षेत्रीय अस्थिरता बढेको अमेरिकी सुरक्षा निकायको मूल्याङ्कन छ । ट्रम्प प्रशासनले कोलम्बियाली सरकारले पर्याप्त नियन्त्रण गर्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘यदि कोलम्बियाले आफ्नै भूमिबाट अमेरिकी हितमाथि खतरा उत्पन्न हुन दिन्छ भने, अमेरिका एक्लै कारबाही गर्न बाध्य हुन सक्छ ।’
ट्रम्पले भने– यो सन्देश केवल एउटा देशका लागि होइन । जसले अमेरिकालाई चुनौती दिन खोज्छ, उसले परिणाम भोग्नुपर्नेछ ।
ट्रम्पको अभिव्यक्तिपछि ल्याटिन अमेरिकी क्षेत्रमा चासो र चिन्ता बढेको छ । मानवअधिकार समूह र केही कूटनीतिज्ञहरूले ट्रम्पको बयानले क्षेत्रीय तनाव बढाउने चेतावनी दिएका छन् । कोलम्बियाली सरकारले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।