मालपोत मन्त्रीले नै मालपोतका कर्मचारीलाई घुस खुवाए
काठमाडौं—मालपोत मन्त्रीले नै मालपोतका कर्मचारीलाई घुस खुवाएका छन् ।
भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले जग्गा पास गर्ने क्रममा मालपोत कार्यालयका कर्मचारीलाई घुस खुवाएका छन् ।
मन्त्री इङ्नामले मन्त्रीको सपथ लिनुअघि गत कात्तिकमा घुस खुवाएको स्वीकार गरेका छन् । उनले घुस खाने काठमाडौं, लतितपुर, भक्तपुरका कार्यालय प्रमुखलाई हटाएर नयाँ प्रमुख मालपोत अधिकृतलाई खटाएका छन् ।
केही दिनअघि भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामसँगै मालपोत कार्यालयमा घुस मागिएको चर्चा चल्यो । केही सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ समाचार प्रकाशितसमेत गरे ।
त्यही समयमा सरकारले लतिलपुर र भक्तपुर र काठमाडौँको चाबहिलका प्रमुख मालपोत अधिकृतलाई सरुवा गर्ने निर्णय समेत गर्यो । ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घमिरे र चाबहलिका प्रमुख दीपेन्द्र खत्रीलाई सरुवा गरएिको थियो । योसँगै उक्त हल्लाले थप चर्चा पायो ।
तर मन्त्रालयले भने यो हल्ला सत्य नभएको प्रस्टीकरण दिएको छ । मंगलबार सञ्चारमाध्यमहरूसँग कुरा गर्दै मन्त्री इङ्नामले आफूले घुस खुवाएको सत्य भए पनि यो आफू मन्त्री हुनुभन्दा अगाडिकै भएको बताए ।
‘मैले घुस चाहिँ खुवाएको हो, तर त्यो कात्तिकमा हो, म मन्त्री हुनुभन्दा अगाडिकै हो,’ उनले भने, ‘अहिले छड्के अनुगमन गर्दाचाहिँ बिचौलियाहरूसँग साँठगाँठ देखेपछि जिम्मेवारी हेरफेर गरेको हो ।’