जेनजी युवाहरु गगन थापाको लाइनमा खुलेर उभिए

मंगलबार, २२ पौस २०८२

काठमाडौं—जेनजी युवाहरु गगन थापाको लाइनमा खुलेर उभिएका छन् ।

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनका नाममा यथास्थितिवाद खोज्नेहरूले जेनजी आन्दोलनको भावनालाई अस्वीकार गरेको बताउँदै थापाको पक्षमा उभिएकी हुन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै संस्थापन पक्षसँग संघर्ष गरिरहेका छन् । तर संस्थापन पक्षले आगामी वैशाखमा नियमित महाधिवेशन आह्वान गरेको छ ।

यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ।

हामी स्पष्ट छौं, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ, उनी लेख्छिन्, भदौ २३ मा कांग्रेसभित्रकै जेनजी साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो।

कांग्रेसभित्रका ती जेनजी युवाहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहेको र नेताहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेजस्तो देखिएको उनले बताइन्।

नियमिततामा ब्रेक त भदौ २३ मै लागेको थियो, जब तपाईंहरूका पार्टीका गृहमन्त्री सम्मिलित सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको थियो। त्यसपछि नेपाली राजनीति नियमितताभन्दा धेरै पर पुगिसकेको छ र अहिले हामी चुनावको संघारमा छौं, उनी लेख्छिन्।

भदौ २३ को आन्दोलन लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम भएको उल्लेख गर्दै रक्षाले भनेकी छन्, जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली कांग्रेस पनि भएकै हो। हामीले त्यो अवस्थाबाट देशलाई निकाल्नका लागि परिवर्तनको माग गरेका थियौं/ छौं।

परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरी मारिएको, देशको युवा पुस्ता घाइते भएको उनले उल्लेख गरेकी छन्।

निराशाको लामो औंसीबाट हामीले थोरै आशाको जून खोजिरहँदा, तपाईंहरूको यथास्थितिवादले सिंगो देशलाई मास डिप्रेसनमा पुर्‍याउने खतरा हामी देखिरहेका छौं। नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ। आफ्नै विधानलाई लत्याउँदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ। अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवा पुस्तालाई धोका दिनुहुन्छ कि देशको भविष्य कोर्ने सुन्दर बगैंचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ। हामी त्यो हेर्न पर्खिरहेका छौं, उनी भन्छिन्।

उनी अगाडि भन्छिन्,आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ। तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ। याद रहोस्, चुनाव दैलोमै आइपुगेको छ र यतिखेर मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार छन्।