कांग्रेसको विशेष महाधिवेशन : होटेलका १५ सय ‘रुम बुक’

बिहिबार, २४ पौस २०८२

काठमाडौं — नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिका निम्ति काठमाडौंका होटेलमा १५ सय ‘रुम बुक’ गरेको छ ।

ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरू बुक गरिएको विशेष महाधिवेशन प्रतिनिधिका निम्ति आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।

“आ–आफ्नो निर्वाचन क्षेत्रका तर्फबाट संयोजन गर्ने गरी होटेलका रुमहरूमा बस्ने व्यवस्थापन मिलाइएको छ,” संयोजक धमलाले भने, “महिला, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई विशेष व्यवस्था गरिएको छ ।”

उनले हरेक निर्वाचन क्षेत्रको ‘पोलिटिकल फोकल पर्सन’ तोक्ने तयारी छ । “काठमाडौंमा घर भएका र आफन्तकोमा बस्नेहरूलाई त्यसरी व्यवस्थापन गर्न अनुरोध गरिनेछ,” उनले भने ।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गरिने भन्दै प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर गरेको छ ।