रवि कुलामनको एकता १२ दिनमै टुट्ने अवस्थामा

शुक्रबार, २५ पौस २०८२

काठमाडौं—रवि कुलमानको एकता १२ दिनमै टुट्ने अवस्थामा पुगेको छ ।

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची सच्च्याउने अन्तिम दिन पुस २७ अगावै रास्वपासँगको एकता टुट्ने अवस्थामा पुगेको दुवै दलनिटक स्रोतहरूले बताएका छन् ।

एकतापछि बनेको पार्टीमा रास्वपा, रवि लामिछाने र कुलमान पक्ष हाबी बनेको निष्कर्षसहित उज्यालो नेपाल पार्टी अलग्गिने तयारीमा लागेको हो ।

यसअघि ब्याक सपोर्ट गरिरहेका उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङ मन्त्रीबाट राजीनामा दिएर राजनीतिक मैदानमा उत्रिएका छन् । उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङले रास्वपासँग अलग्गिएर नयाँ ढंगले अगाडि बढ्ने ब्रिफिङ पार्टीभित्र गरेका छन् ।

यसका लागि निर्वाचन आयोगमा १ सय १० जनाको समानुपातिक बन्दसूची बुझाएको अर्को कुनै दलसँग मिलेर जाने गृहकार्य चलिरहेको स्रोतले बताएको छ ।

आज रातिसम्म कुनै नयाँ सहमति भयो भने बेग्लै कुरा, नभए नयाँ ढंगले अगाडि बढ्ने कुरा छ,’ उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले भने ।

उज्यालो नेपाल पार्टीका नेता जीतराम वाइबाले कसरी अगाडि बढ्ने भन्नेबारे आज रातिसम्म टुंगो लाग्ने बताए । ‘हामीले पार्टी सभापति र प्रधानमन्त्री दुवैको दाबी छाडेको हो, त्याग गर्न के बाँकी छ र ?’ वाइबाले भने, ‘सम्मानजनक एकता र समायोजन होस् भन्ने हाम्रो भनाइ हो ।’

वाइबाले रास्वपासँग सँगै रहने-नरहने भन्नेमा अहिलेसम्म बराबर सम्भावना रहेको उनले बताए । ‘हामीले आज पनि रास्वपाका साथीहरूसँग छलफल गरेका छौं । अहिले उहाँहरू आन्तरिक छलफलमा हुनुहुन्छ,’ शुक्रबार अपराह्न ४ बजे वाइबाले भने, ‘यसअघि आजै फेरि छलफल हुन्छ । सहमति नभए हामी नयाँ ढंगले अगाडि बढ्छौं ।’

बन्दसूची पेश गर्ने अन्तिम दिन पुस १४ गते राति कुलमानको उपस्थितिमा रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भएको थियो ।

त्यसपछि रास्वपाले समानुपातिकको बन्द सूचीमा उज्यालो नेपाल पार्टीका केही व्यक्तिको नाम समावेश गरेको थियो ।

दलित महिलातर्फको कोटामा रिमा विश्वकर्माको नाम पहिलो नम्बरमा परेकोबाहेक अरू सांसद समानुपातिक तर्फबाट आउने सम्भावना नरहेको उज्यालो नेपाल पार्टीका नेताहरूको मूल्याङ्कन छ ।

यो अवस्थामा रास्वपासँग एकता गरिराख्नुको औचित्य सकिएको उज्यालो नेपाल पार्टीका एक नेताले बताए ।

राजनीतिमा सक्रिय हुनका लागि मन्त्री पदबाट राजीनामा गरेका घिसिङले आफूलाई नयाँहरूबीचको एकताविरोधी देखाउन खोजिएका कारण बाध्यतावश रास्वपामा जानुपरेको भनेर उज्यालो पार्टीको कोर टीममा ब्रिफिङ गरेका छन् । ‘नयाँहरू मिल्नुपर्छ भन्नेले मलाई एकताविरोधी देखाउन खोजेकाले मिल्न गएको हो, तर सबै पहिचान गुमाएर त्यहाँ बस्नुको औचित्य छैन,’ घिसिङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले आफ्नै बलमा २५-३० सीट ल्याउन सकियो भने पनि प्रधानमन्त्री बन्ने अवस्था आउँछ ।’

बुधबार राति मन्त्री पदबाट राजीनामा गरेपछि आयोजित पत्रकार सम्मेलनमा कुलमानले आफूले कुनै दलको सदस्यता नलिएको र रास्वपाको वरिष्ठ उपसभापति स्वीकार नगरेको बताएका थिए । राजनीतिमा सक्रिय हुनकै लागि आफूले राजीनामा गरेको बताएका उनले रास्वपामा सहभागी नहुने संकेत दिएका थिए ।

‘आफ्नो इमान, पहिचान गुमाएर काम गर्दिनँ,’ घिसिङले भनेका थिए । रास्वपासँग एकता गर्दा आफूहरूको पहिचान सिद्धिएको निष्कर्ष बहुसंख्यक नेताको छ ।

कुलमानले राजीनामा गरेकै दिन मध्यराति १२ बजे उनको निवासमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताहरूबीच छलफल भएपनि त्यो सकारात्मक नरहेको रास्वपा स्रोतले बतायो ।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले कुलमानलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति पार्टीमा अनुमोदनको प्रक्रियामा रहेको प्रतिक्रिया दिएका थिए ।

रास्वपाको पदाधिकारीमा कुलमानलाई वरिष्ठ उपसभापति र एक सहमहामन्त्री दिने सहमति भएको थियो ।

समानुपातिकतर्फ १८ जनाको नाम समावेश गर्ने सहमति भएकोमा रिमा विश्वकर्माबाहेक अन्यको नाम पछाडि छ ।

रास्वपासँग गरिएको सहमतिले बालेनलाई मात्र फाइदा भएको विश्लेषण कुलमान समूहको छ । ‘यो सहमतिबाट रवि लामिछाने पनि खुसी हुनुहुन्न, कुलमानजी पनि सन्तुष्ट हुनुहुन्न’, स्रोतले भन्यो, ‘नयाँहरू मिल्ने कुराको विरोधी नदेखिनका लागि मात्र बाध्यतावश हस्ताक्षर गरिएको हो ।’

समानुपातिक तर्फबाट आफूहरूको सांसद बन्ने सम्भावना नभएपछि उज्यालो नेपाल पार्टी पुस २८ गते बन्द सूची लिएर आयोग पुगेको थियो । १४ गते तिरेको भौचरका आधारमा बन्दसूची लिनुपर्ने उनीहरूको मागलाई निर्वाचन आयोगले नमिल्ने भन्दै फर्काइदिएको थियो ।

त्यसपछि कुलमान समूहले आयोगमा बन्दसूची बुझाएको अन्य दलसँग संवाद गरिरहेको छ ।

बन्दसूचीमा आमूल परिवर्तन गरेर चुनावी तालमेलसहित जानेबारे छलफल चलिरहेको स्रोतले बतायो । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, बाबुराम भट्टराई तथा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग कुरा चलिरहेको स्रोतको भनाइ छ ।

रास्वपासँग एकता भएकै दिन त्रिपुरेश्वरमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना गरिएको थियो ।