शेरबहादुरले तानाशाही प्रवृति देखाएपछि गगन-विश्वलाई साथ दिने निर्णय गरेँ : पूर्वउपसभापति श्रेष्ठ

शनिबार, २६ पौस २०८२

काठमाडौँ — पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएपछि पनि सभापति शेरबहादुर देउवाले तानाशाही प्रवृति देखाउन थालेपछि आफू विशेष महाधिवेशनको पक्षमा लागेको पूर्वउपसभापति गोपालमान श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले अब कांग्रेसमा तानाशाही प्रवृति नचल्ने भन्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।सभापति देउवाले मेरो सिग्नेचर चल्छ कसले के गर्छ भनि तानाशाही प्रवृति देखाउन थालेपछि मेरो मनले मानेन । त्यसैले मैले महामन्त्री गगन र विश्वलाई साथ दिने निर्णय गरेँ । मैले आह्वान गरेको छु सबैलाई, विशेष अधिवेशन सफल पार्न आग्रह गरेको छ, श्रेष्ठले भने ।

पार्टीमा देउवाको तानाशाही सहि नसक्नुको भएको पनि श्रेष्ठको भनाइ छ । उहाँको तानाशाही सही नसक्नु भयो । उहाँलाई चेतना अझै आएको छैन । चेतना आएको पाइनँ । के-केको घमण्ड छ थाहा छैन । साथी भाइको कुरा नसुन्ने, आफ्नै कुरा गर्ने,श्रेष्ठले भने ।

महामन्त्री गगन थापासँग छलफल गरेर विशेष महाधिवेशनको पक्षमा उभिने र सहयोग गर्ने निर्णयमा पुगेको श्रेष्ठले बताए । गगनजीसँग मेरो निवासमा १ घण्टा छलफल गरेर विशेष महाधिवेशनमा सहयोग गर्ने निर्णय लिए । अब यिनीहरूबाटै पार्टीको सबै कुरा अगाडि बढोस्, श्रेष्ठले भने । पार्टी सभापतिबाट देउवाले राजीनामा दिनुपर्ने पनि श्रेष्ठको माग छ ।

शेरबहादुर देउवाले राजीनामा दिनुपर्छ । सक्रिय राजनीतिबाट राजीनामा दिएर बस्नुपर्छ, श्रेष्ठले भने, मैले जे चाह्यो त्यै हुन्छ भन्ने भयो भने हुन्न । शेरबहादुरले कार्यवाहक सभापति र अरु पदाधिकरीलाई राखेर राजनीतिबाट अलग भए तपाईंहरू सल्लाह गरेर अगाडि बढ्नुस् भन्यो भने भोलि हुने विशेष महाधिवेशन नीति महाधिवेशन वा आगामी चुनावको घोषणापत्र महाधिवेशन हुनसक्छ ।

देउवाले पार्टी सभापतिबाट राजीनामा नदिए विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि श्रेष्ठको माग छ । त्यो भएन भने विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्यो । अब पनि किन छाड्ने ? श्रेष्ठले भने ।

गोपालमान श्रेष्ठले कांग्रेसमा सधै देउवालाई साथ दिँदै आएका थिए । अहिले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिने नाटक गरेको र सिंगापुरबाट पनि सुध्रिएर नआएपछि दिक्क लागेर विशेष महाधिवेशनको पक्षमा उभिएको श्रेष्ठले बताए ।

देउवालाई विगतमा दिएको साथका लागि अहिले आफूलाई पछुतो भइरहेको पनि श्रेष्ठले बताए । मैले शेरबहादुरलाई धेरै पहिलेदेखि साथ, सहयोग दिए । आपत-विपत पर्दा काम गरेँ । अहिले पछुतो लागेको छ, श्रेष्ठले भने ।