आगामी निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उमा भुजेलसहित ३ जनाको नाम सिफारिस
काठमाडौँ – आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गोरखामा ‘जेल ब्रेककी’ कमाण्डर तथा नेकपा माओवादेकी स्थायी समिति सदस्य उमा भुजेल शिलु सहित ३ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज भुजेलको नाम आइतबार बसेको माओवादी जिल्ला समितिको सचिवालय बैठकले केन्द्रमा सिफारिस गरेको हो ।
गोरखा २ बाट माओवादीले भुजेलसहित केन्द्रीय सदस्य काजी गुरुङ र मजदुर नेता टेक प्रधानको नाम पनि सिफारिस गरेको छ ।
दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकुले २०५७ चैत १७ मा गोरखा कारागारबाट सुरुङ खनेर भागेका थिए । अजिरकोट काफलडाँडा घर भएकी भुजेल जेल ब्रेकपछि चर्चामा रहँदै आएकी छिन् ।भुजेल नेकपाभित्र पनि ससक्त महिला नेत्रीको रुपमा स्थापित छिन् ।