गगन-विश्वसँग वार्ता गर्न तम्सिए आफैं देउवा
काठमाडौं — नेपाली कांग्रेसमा विशेष महाधिवेशनको कारण उत्पन्न विवाद र पार्टी विभाजनको सम्भावना टार्न सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएका छन्।
सोमबारदेखि जारी छलफल र पूर्व प्रयास असफल भएपछि, देउवा आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘सभापतिले आकस्मिक र विश्वासिलो ढंगबाट महामन्त्रीहरूसँग संवाद गर्ने, सकारात्मक निर्णय निकाल्ने निष्कर्ष निस्केको छ। दुवै महामन्त्री पनि यसमा सकारात्मक छन्।’
देउवाले यसअघि विशेष महाधिवेशन पक्षसँगको छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक मार्फत अघि बढाएका थिए। तर सहमति नजुटेपछि र पक्षधरहरूले नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेपछि सभापति आफैं सक्रिय बनेका हुन्।
विश्वकर्माका अनुसार, छलफलको उद्देश्य विशेष महाधिवेशनलाई विधिसम्मत र सुरक्षित ढंगले टुंग्याउने हो। उनले भने, ‘महामन्त्रीहरूसँग कुरा गर्दै पार्टी विभाजन नगरी प्रक्रियालाई विधि अनुसार अगाडि बढाउने उपायहरूमा छलफल हुनेछ।’
नेता रमेश लेखकले पनि पार्टीमा विभाजन नहुने दाबी गर्दै भने, ‘महामन्त्रीहरूसँग आज दिनभर पटकपटक कुरा भइरहेको छ। सबै कुरा सहमतिमै टुंगिनेछ। विभाजन हुन दिँदैनौँ।’