सभापति गगनसहित कांग्रेसका सबै पदाधिकारी निर्वाचन आयोग पुग्दै

बिहिबार, १ माघ २०८२

काठमाडौं—नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुग्दैछन् ।

कांग्रेसको अधिकारिकता दाबी गर्नका लागि आवश्यक कागजातसहित उनीहरू आयोग पुग्न लागेका हुन् । सहमहामन्त्री मुक्ता यादव आयोग पुगिसकेकी छन् भने अन्य पदाधिकारी जाँदैछन् । पदाधिकारीसहित केन्द्रीय सदस्यहरू पनि आयोग जाँदैछन् ।

ललितपुरको कुपण्डोलमा पहिलो केन्द्रीय समिति बैठकपछि पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी दस्तावेज निर्वाचन आयोग लैजान लागिएको नेता अमरसिंह पुनले जानकारी दिए ।

हलबाट पारित विधान, चुनावी प्रयोजनका लागि हस्ताक्षर बदल्ने र समानुपातिक सूची अद्यावधिक गर्ने निवेदन र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट आयोगमा बुझाइनेछ ।

काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

उक्त कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन् ।