नेकपा माओवादी र संयुक्त जेनजी आन्दोलनबिच ४ बुँदे सहमती

बिहिबार, १ माघ २०८२

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबीच एकताको तयारी भएको छ । सर्वपक्षीय नागरिक सरकार गठनको माग गर्दै आएका दुई समूहबीच चार बुँदे सहमति हुन लागेको हो ।

स्रोतका अनुसार दुई समूहबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संयुक्त रुपमा संघर्ष गर्ने निर्णय भएको छ ।

त्यस्तै, जेनजी आन्दोलनको उपलब्धी संस्थागत गर्ने र आन्दोलनबाट पीडितहरुको माग पुरा गर्ने, आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायीक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने पनि उनीहरुबीच सहमति भएको छ ।

आगामी प्रतिनिधिसभाको निर्वाचनअघि नागरिक सरकारको गठन गर्न माग गर्दै दुई हप्तादेखि आन्दोलनरत ढुंगानाको समूहलाई भेट्न नेकपा माओवादीका नेताहरु अपरान्ह माइतीघर जान लागेको बुझिएको छ । खुल्ला सडकमै उनीहरुले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।