केपी शर्मा ओलीले गरे नेकपा संयोजक प्रचण्डलाई प्रधानमन्त्रीको अफर
काठमाडौं—एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेका छन् ।
आगामी निर्वाचन सार्ने सर्तमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् ।
शुक्रबार ओली र प्रचण्डबिच भएको टेलिफोन संवादका क्रममा ओलीले निर्वाचन सारिएमा संसद् पुनर्स्थापना हुने र त्यसपछि प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको एमाले निकट श्रोतले जनाएको छ ।
संसद् पुनर्स्थापना हुँदा आफू प्रधानमन्त्री नबन्ने र कांग्रेसका शेरबहादुर देउवाले पनि खासै चाहना नराखेको भन्दै ओलीले प्रचण्डलाई संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दाबी गरिएको छ ।
ओलीको प्रस्तावको जवाफ दिँदै प्रचण्डले आफ्नो पार्टी समयमै निर्वाचन हुनुपर्ने पक्षमा रहेको र पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेको बताए ।
चितवनमा रहेका प्रचण्डलाई फोन गरेर ओलीले कम्तीमा २ महिनाका लागि चुनाव सार्न प्रस्ताव गरेका हुन् । निर्वाचन सारेपछि संसद् पुनर्स्थापनाको बाटो खुल्ने र यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीले प्रस्ताव गरेको जनआस्थाको सार्वजनिक खबरमा दाबी गरिएको छ ।
यता ओली र प्रचण्डबिच निर्वाचन सार्ने, संसद् पुनर्स्थापना गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा छलफल भएको दाबी गरिए पनि दुवै दल निर्वाचनको तयारीमा भने जुटेका छन् । यद्यपि, सार्वजनिक खबरबारे उनीहरूले कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।
दुवै दलले आगामी फागुन २१मा हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका छन् भने प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो पनि अन्तिम चरणमा पुर्याइसकेका छन् ।