सागर ढकाल शेरबहादुर देउवासँग चुनाव लड्न डराए

आइतबार, ४ माघ २०८२

काठमाडौं—सागर ढकाल शेरबहादुर देउवासँग चुनाव लड्न डराएका छन् ।

अघिल्लो निर्वाचनमा झण्डै दोब्बर मतान्तरले पराजित भएका ढकाल देउवा शक्तिविहिन भएको बहाना बनाउँदै डडेलधुराबाट चुनाव लड्न डराएका हुन् । देउवालाई बुढो रुखको संज्ञा दिदै उनले गगन थापा सभापति बनेपछि आफ्नो मिसन पुरा भएको बताए ।

बुढो रुख ढाल्ने मिसन सफल भएको बताउँदै उनले रुपन्देही वा गुल्मीबाट चुनाव लड्ने घोषणा गरे ।

ढकालले कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि आफूले डडेलधुराबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको बताए। उनले यस विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भएको जानकारी दिए।

देउवाको बहिर्गमनलाई ‘ढलेको रुख’को संज्ञा दिँदै ढकालले देउवा चुनाव उठे पनि आफू डडेलधुराबाट नउठ्ने स्पष्ट पारे। उनले भने, ‘हजुरबुबा पुस्ता सबै ढलिसक्यो। शेरबहादुर देउवा पार्टीबाटै हटिसकेपछि र टिकट गगन थापाले दिने अवस्था आएपछि म किन डडेलधुरा जानु ?’

अब कहाँबाट चुनाव लड्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउँदै उनले आइतबारभित्र टुंगो लाग्ने बताए। ‘रुपन्देही वा गुल्मीमध्ये कुनै एक स्थानबाट चुनाव लड्छु,’ उनले भने।

अघिल्लो चुनावमा डडेलधुराबाट उम्मेदवारी दिनु समयको आवश्यकता भएको उल्लेख गर्दै ढकालले अब डडेलधुरासहित समग्र सुदूरपश्चिमका मुद्दा उठाइरहने बताए। ‘डडेलधुरा नगए पनि त्यहाँका मुद्दा उठाउँछु,’ उनले भने।

२०७९ मंसिर ४ को निर्वाचन आउनु ठीक चार महिना अघि ढकालले फेसबुकमा लेखेका थिए— ‘नाइट बस चढेर डडेलधुरा जाँदै छु।’ त्यसपछि डडेलधुरा पुगेर तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकालले १३ हजार ४३ मत प्राप्त गरेका थिए। देउवाले २५ हजार ५३४ मत ल्याएर चुनाव जितेका थिए।