गगन थापाले देउवा समूहलाई पनि टिकट दिने

सोमबार, ५ माघ २०८२

काठमाडौं – नेपाली कांग्रेसको गगन थापा समूहले शेरबहादुर देउवा समूहलाई पनि टिकट दिने भएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि गगन समूहले देउवा समूहलाई पनि समेटेर लैजान टिकट दिने भएको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित भएर आधिकारिकता पाएका थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरु छलफलमा जुटे पनि कुनै सहमति भने भएको छैन । निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन समूहले पार्टीको टिकट लिएर निर्वाचन लड्ने भए निर्वाचन आयोगले दिएको आधिकारिकताविरुद्ध सर्वोच्चमा हालेको रिट फिर्ता लिनुपर्ने सर्त राखेको छ ।

‘विशेष महाधिवेशनको नेतृत्व स्वीकारेर उनको (गगन थापा) हस्ताक्षरसहितको टिकट लिएपछि विशेष महाधिवेशनलाई स्वीकारेको हुने भयो’, आयोगबाट आधिकारिकता पाएको गगन समूह एक नेताले भने, ‘यता, सभापति स्विकारेर टिकट लिने उता विशेष महाधिवेशन अवैध भनेर अदालत जान भएन नि !’

गगन समूहले राखेको सर्तबारे देउवा-शेखर समूहका नेताहरुले कुनै प्रतिक्रिया दिइसकेका छैनन् । र, बैठक आज बिहान पनि जारी रहेको नेताहरुले बताएका छन् । आइतबार राति सभापति गगन थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, शेरबहादुर देउवा समूहबाट नेता रमेश लेखक र शेखर कोइराला समूहबाट नेता मिनेन्द्र रिजालले विवाद मिलाएर जान छलफल चलाएका थिए ।

सोही छलफललाई आज पनि निरन्तरता दिइएको नेताहरुले बताएका छन् । राति भएको छलफलमा अन्य कुरामा नमिले पनि निवर्तमान सांसद र दान नलागेका व्यक्तिहरुलाई टिकट दिने विषयमा भने गगन समूह तयार भएको एक नेताले बताए ।