विप्लवको संघर्षबाट संवादसम्मको राजनीतिक यात्रा

मंगलबार, ६ माघ २०८२

विचारमा फरक भए पनि माओवादी जनयुद्धलाई मैले टाढाबाट होइन, अत्यन्त नजिकबाट देखेको, सुनेको र भोगेको छु। त्यो मेरो लागि केवल एउटा राजनीतिक घटना मात्र थिएन, त्यो पीडा, बलिदान र परिवर्तनको आकाङ्क्षाले भरिएको समय थियो। मेरो सहोदर बहिनी, ज्वाइँ, मामा र करिब पचासजना आफन्त राज्यको दमनका कारण माटोमा मिसिए।

यही गहिरो व्यक्तिगत अनुभूतिको आधारमा म माओवादी आन्दोलन र त्यसबाट उदाएका नेतृत्वलाई भावनात्मकभन्दा बढी ऐतिहासिक र यथार्थपरक दृष्टिले हेर्ने प्रयास गर्छु। यही आन्दोलनबाट उदाएका सशक्त राजनीतिक पात्रमध्ये एक हुन् नेत्रविक्रम चन्द ‘विप्लव सी’। जनयुद्धका केन्द्रीय नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नजिकका सहयात्रीका रूपमा विप्लवले युद्धकालीन संगठन निर्माण, रणनीति र अनुशासनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। जनयुद्ध उत्कर्षमा पुग्नु र राज्यसँग निर्णायक राजनीतिक वार्ताको वातावरण बन्नुमा विप्लवको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन। त्यसैले धेरैले विप्लवमा प्रचण्डको राजनीतिक छायाँ मात्र होइन, भविष्यका सम्भावित उत्तराधिकारीको झल्कोसमेत देख्थे।

नेपाली कम्युनिस्ट आन्दोलन सधैं विचारको गहिरो बहसबाट अघि बढेको इतिहास बोकेको छ। यही परम्पराभित्र माओवादी आन्दोलनमा पनि वैचारिक भिन्नता देखा पर्‍यो। यसलाई कमजोरीभन्दा पनि एक गतिशील राजनीतिक संस्कृतिको संकेतका रूपमा बुझ्न सकिन्छ। यही बहसको क्रममा प्रचण्ड र विप्लवको राजनीतिक बाटो अलग भयो। विप्लवले क्रान्तिको लक्ष्य अझै अधूरो रहेको ठानेर आफ्नै बाटो रोजे, जुन उनको वैचारिक निष्ठा र साहसको अभिव्यक्ति थियो।
तर समय, परिस्थिति र जनताको प्राथमिकताले राजनीतिलाई निरन्तर पुनर्मूल्याङ्कन गर्न बाध्य बनाउँछ।

करिब एक दशकभन्दा बढी समयको संघर्षपछि विप्लवले राजनीतिलाई फरक ढङ्गले अघि बढाउने निष्कर्षमा पुग्नु पराजय होइन, बरु राजनीतिक परिपक्वताको संकेत हो। आजको विश्व र नेपाली समाज सशस्त्र द्वन्द्वभन्दा राजनीतिक संवाद, सहभागिता र संस्थागत परिवर्तनलाई प्राथमिकता दिन चाहन्छ। यही यथार्थलाई आत्मसात गर्दै खुला राजनीतिमा प्रवेश गर्ने निर्णय विप्लवको राजनीतिक यात्राको एक महत्त्वपूर्ण मोड हो।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्नु केवल कानुनी प्रक्रिया मात्र होइन, यो जनतासँग प्रत्यक्ष संवाद गर्ने, विचारलाई प्रतिस्पर्धामा उतार्ने र लोकतान्त्रिक अभ्यासमार्फत परिवर्तन खोज्ने प्रतिबद्धताको अभिव्यक्ति हो। अवश्य पनि भूमिगत संघर्षबाट खुला राजनीतिमा रूपान्तरण सहज हुँदैन। तर यही रूपान्तरणले विप्लवलाई नयाँ पुस्तासँग जोडिने, आफ्नो वैचारिक धारलाई पुनः परिभाषित गर्ने र माओवादी आन्दोलनका अधूरा एजेन्डालाई लोकतान्त्रिक माध्यमबाट अघि बढाउने अवसर प्रदान गर्छ।

यस सन्दर्भमा माओवादी मूलधारसँग सहकार्य, संवाद वा सम्भावित एकतालाई कमजोरीका रूपमा होइन, ऐतिहासिक निरन्तरताका रूपमा बुझ्न सकिन्छ। विभाजनपछि पुनः सहकार्यतर्फ फर्कनु राजनीतिक अस्थिरता होइन, बरु परिपक्व नेतृत्वको पहिचान हो। यदि विप्लवले आफ्नो वैचारिक दृढता जोगाउँदै संगठनलाई थप लोकतान्त्रिक, समावेशी र जनमुखी बनाउन सके, उनी नेपाली वाम राजनीतिमा पुनः प्रभावशाली भूमिका खेल्न सक्षम छन्।

नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ एक फरक र चुनौतीपूर्ण राजनीतिक पात्रका रूपमा उदाएका छन्। सशस्त्र विद्रोहको अनुभव, भूमिगत संघर्ष, राज्यसँगको टकराव र पछिल्लो शान्तिपूर्ण राजनीतिमा प्रवेश—यी सबै चरणले विप्लव नेतृत्वको राजनीतिक यात्रालाई जटिल र बहुआयामिक बनाएका छन्। आजको सन्दर्भमा मूल प्रश्न यही हो—बिप्लवको अबको बाटो के हो ?

१) सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिसम्म

विप्लव नेतृत्वको पार्टीले लामो समय सशस्त्र संघर्षलाई राज्य रूपान्तरणको प्रमुख माध्यमका रूपमा मानेर राजनीति गर्‍यो। तर राज्यको शक्ति संरचना, अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक समर्थनको सीमितताले त्यो बाटो दीर्घकालीन रूपमा टिकाउ नहुने यथार्थ उजागर भयो। शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आउनु विप्लवका लागि बाध्यता मात्र नभई रणनीतिक मोड पनि थियो।

२) वैचारिक शुद्धता र व्यवहारिक पुनर्व्याख्या

विप्लवको राजनीतिक चुनौती वैचारिक शुद्धता र बदलिँदो समाजबीच सन्तुलन कायम गर्नु हो। संसदीय व्यवस्थाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएका उनले अब यही व्यवस्थाभित्र जनपक्षीय एजेन्डा स्थापित गर्ने सम्भावना खोजिरहेका छन्। यसले पार्टीभित्र वैचारिक पुनर्व्याख्या र सृजनात्मक बहसलाई प्रोत्साहन गरेको छ।

३) जनाधार विस्तार र नयाँ पुस्तासँगको सम्बन्ध

आजको नेपाली समाजमा रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, प्रविधि र सुशासन प्रमुख सरोकार बनेका छन्। यही सन्दर्भमा २०८२ माघ १ गते जेन–जी संयुक्तका अगुवा मिराज ढुंगानासँग भएको सहमति बिप्लवको रणनीतिमा महत्त्वपूर्ण मोडका रूपमा देखिन्छ।

उक्त सहमतिले युवा सहभागिता, अहिंसात्मक राजनीतिक अभ्यास, संवादमार्फत परिवर्तन र समावेशी लोकतान्त्रिक सुधार लाई जोड दिएको छ। यसले बिप्लव नेतृत्वलाई परम्परागत क्रान्तिकारी घेराबाट बाहिर निस्कँदै नयाँ पुस्ताको चेतना, अपेक्षा र भाषासँग जोडिन मार्ग प्रशस्त गरेको छ।

४) वैकल्पिक वाम शक्तिको निर्माण

मुख्यधारका वाम दलहरूप्रति बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा बिप्लव ‘सिद्धान्तनिष्ठ तर व्यवहारिक’ वैकल्पिक वाम शक्तिका रूपमा उभिन सक्छन्। बन्द–हड्ताल केन्द्रित राजनीतिभन्दा नीति, संवाद र जनसरोकारलाई केन्द्रमा राख्ने अभ्यासले उनको राजनीतिक विश्वसनीयता बढाउनेछ।

५) संगठनात्मक रूपान्तरण

भूमिगत संरचनामा अभ्यस्त संगठनलाई खुला, पारदर्शी र लोकतान्त्रिक बनाउनु चुनौतीपूर्ण भए पनि अपरिहार्य छ। नेतृत्व चयन, निर्णय प्रक्रिया र आन्तरिक बहसलाई संस्थागत गर्दै युवालाई जिम्मेवारी दिन सक्नु बिप्लवको राजनीतिक दीर्घकालीन सफलताको आधार बन्न सक्छ।

६) प्रचण्डको पार्टीसँग एकता बाहेक बिप्लवका सम्भाव्य बाटा

प्रचण्ड नेतृत्वको माओवादी मूलधारसँग एकता एउटा सम्भावना हो, तर त्यसबाहेक पनि बिप्लवका लागि केही आत्मसम्मानयुक्त र यथार्थपरक विकल्प खुला छन् ।

(क) स्वायत्त वैकल्पिक वाम शक्ति निर्माण ः सामाजिक न्याय, श्रम अधिकार, राष्ट्रिय स्वाधीनता र सुशासनलाई केन्द्रमा राख्दै युवा–मैत्री, नीति–आधारित राजनीतिक शैली विकास गर्नु।

(ख) मुद्दा–आधारित सहकार्य ः भ्रष्टाचार विरोध, सार्वजनिक शिक्षा–स्वास्थ्य र रोजगारी सिर्जनाजस्ता साझा एजेन्डामा प्रगतिशील शक्तिसँग सहकार्य गर्दै जिम्मेवार परिवर्तनकामी पहिचान निर्माण गर्नु।

(ग) संसदीय अभ्यास र नागरिक दबाबको संयोजन ः संवैधानिक, अहिंसात्मक र संवादमुखी दबाब राजनीतिलाई संसदीय अभ्याससँग जोड्दै सार्वजनिक बहस र नीति निर्माणमा प्रभाव जमाउनु।

अन्तिममा,

विप्लवको राजनीतिक यात्रा अब केवल संघर्षको स्मृतिमा सीमित छैन, यो संवाद, पुनर्विचार र पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ। जेन–जी पुस्तासँगको सहमति, खुला राजनीति र संगठनात्मक रूपान्तरणमार्फत उनी नेपाली वाम राजनीतिमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छन्, जहाँ क्रान्ति बन्दुकमा होइन, जनविश्वास र लोकतान्त्रिक अभ्यासमा पुनर्परिभाषित हुन्छ।