राप्रपाका उम्मेदवार नेपाललाई साइबर ब्युरोले बोलायो
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ ।
साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नुपर्ने भएकाले बोलाइएको बताए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेपाललाई बोलाएको र आफूहरु उपस्थित भएर जवाफ दिने बताएका छन् ।
नेपालले भने आफूलाई साइबर ब्युरोले बोलाएको स्वीकार गर्दै पक्राउ नै गर्न सक्ने बताए । ‘मलाई हिजो टेलिफोन गरेर उपस्थित हुन भनियो । मैले म झापामा चुनाव प्रचारमा छु भनेको छु,’ उनले भने, ‘पर्सिसम्म आएर जवाफ दिन्छु । तर मलाई पक्राउ गर्ने योजना भएको बुझेको छु । मेरो र राप्रपाको माहोल राम्रो देखेर पक्राउ गर्न खोजिएको छ ।
नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ । उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।
५ माघमा राप्रपा प्रवेश गरेका नेपालले झापा-२ बाट उम्मेदवारी दिएका छन् ।