बालेन शाह र रवि लामिछानेलाई मिलाउने दुई दाजुभाई सांसद बन्ने दौडबाट बाहिरिए
काठमाडौं—बालेन शाह र रवि लामिछानेलाई मिलाउने दुई दाजुभाई सांसद बन्ने दौडबाट बाहिरिएका छन् ।
आगामी चुनावमा बहुमत ल्याउने सपनासहित रवि–बालेनलाई जोड्ने आसिफ साह र असिम साह चुनावी दौडबाट बाहिरिएका हुन् । असिम अघिल्लो संसदमा सांसद बनेका थिए भने यो पटक आसिफ रास्वपाको मुस्लिम पुरुष क्लस्टरबाट सांसद बन्ने पक्का थियो ।
दाजुभाई पालैपाले सांसद बन्न खोजेको भन्दै विरोध भएपछि नाम फिर्ता लिएका थिए । काठमाडौं ५ बाट प्रत्यक्ष चुनाव लड्ने सोच बनाएका उनीलाई पार्टीले टिकट दिएन ।
साख्खै दाजुभाइ हुन् आसिफ र असिम जो यसअघि मनोरञ्जन क्षेत्रमा सक्रिय थिए । बालेनसँग उनीहरुको निकटता पुरानो हो । बालेनले महानगरको मेयरमा उम्मेदवारी दिएपश्चात असिम उनको चुनावी अभियानमा जोडिए । त्यसको केही समयमै रवि लामिछानेले रास्वपा गठन गरे र असिमलाई ताने । २०७९ सालको आमनिर्वाचनमा मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बने । संसदभित्र ओजिलो भूमिका पनि निभाए । तर, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएन ।
बालेनसँग उत्तिकै कसिलो सम्बन्ध भएका दाइ आसिफ भने राजनीतिमा लागेनन् । आफ्नै क्षेत्रमा क्रियाशील रहे । जबकि राजनीतिक चेतमा भने उनी पनि भाइभन्दा कम थिएनन् ।
यसपटक भने परिस्थितिले आसिफलाई पनि राजनीतिमा धकेल्यो । चुनाव घोषणासँगै आफैं पार्टी खोल्ने तयारी गरेका थिए बालेनले । क्षेत्र फरक भए पनि आसिफ बालेनको वरिपरि नै थिए । रास्वपाको केन्द्रीय सदस्य हुनुका बाबजुद असिमको पनि रविभन्दा बढी बालेनसँग निकटता थियो । उनी पनि बालेनको कोर टीमकै व्यक्ति थिए । बालेनले पार्टी रोजेको भए सायद रविको साथ छोडेर बालेनतिर जानुको विकल्प हुँदैनथ्यो । तर, त्यस्तो कठिन परिस्थिति आएन ।
अहिलेका सर्वाधिक लोकप्रिय दुई युवा नेता फरक—फरक पार्टीबाट चुनाव लड्ने स्थिति देखेर परम्परागत राजनीतिक शक्तिहरु हौसिएका थिए । वैकल्पिक शक्तिको भोट बाँडिदा सांसदमा आफूहरुकै रजगज हुनेमा उनीहरु ढुक्क थिए । यस्तो अवस्था नआओस भनेर आसिम दाजुभाइ उनीहरुलाई मिलाउनेतिर लागे । जेनजी आन्दोलनपछि यो प्रयास सुरू भएको थियो ।
फरक पृष्ठभूमि र स्वभावका (कतिपय त ठ्याक्कै विपरीत) दुई पात्र रवि र बालेनलाई एक ठाउँ ल्याउने काम भने कम्ति चुनौतिपूर्ण थिएन । त्यसमाथि उनीहरु एकअर्काप्रति एक हदसम्म शंकालु पनि थिए । मिडियाले पनि उनीहरुलाई एक अर्काको ‘प्रतिद्वन्द्वी’ जस्तो बनाइदिएको अवस्थामा साह दाजुभाइ विश्वासको वातावरण निर्माण गर्न लागे ।
बालेन र रविको सहयात्राका लागि आफूहरुले ‘पोस्टम्यान’ को भूमिका निभाएको बताउँछन् असिम । रवि कारागारमा थिए । उनीसँग तारन्तार भेट्न सहज थिएन । बालेनसँग भने उनीहरु निरन्तर सम्पर्कमै हुन्थे । दुईजनाका सन्देशहरु एक—अर्का सुनाउँदै जाँदा विस्तारै विश्वासको वातावरण बन्यो । रवि कारागारबाट मुक्त भएपश्चात सहजता थपियो ।
संवादका क्रममा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन साह दाजुभाइले निकै मिहिनेत गरे । रवि र बालेनबीच औपचारिक वार्ता धेरै कुरामा समझदारी जुटिसकेको थियो । राजनीतिक गणितले नभएर व्यक्तिगत विश्वास र सम्बन्धले सहमति सम्भव भएको असिमको भनाइ छ ।
आसिमले गत पुस २ गते फेसबुकमा हालेको पोस्टले निकै तरंग ल्यायो । उनले एउटा एआई निर्मित भिडिओ हालेका थिए, जसमा रवि लामिछाने, बालेन र कुलमान घिसिङ एक साथ हिँडिरहेका देखिन्थे । भिडिओको क्याप्सनमा उनले लेखेका थिए, ‘coming together फागुन २१’ । आउँदो आमनिर्वाचनमा रवि, बालेन र कुलमानले सहकार्य गर्ने उनको सन्देश थियो । धेरैले त यसलाई पत्याएनन् । तर, यथार्थमा कुरा धेरै अघि बढिसकेको थियो । तर, त्यतिञ्जेलसम्मका सबै प्रगतिलाई गोप्य राखिएको थियो । मिडियाले सुइँको नै पाएका थिएनन् ।
मिडियाले थाहा नपाउन् भनेर नै ठाउँ फेरि फेरि बैठक गरिन्थ्यो । बाहिर कुरा लिक भयो मिडिया म्यानुपुलेसन हुन सक्ने डरले गर्दा सबै काम गुपचुप गरिएको साह बताउँछन् । पुस ७ गते रवि र बालेनबीच पहिलोपटक भएको वान टु वान वार्ता भने गोप्य रहन सकेन । यही वार्ता नै उनीहरुबीचको एकताको कोषेढुंगा थियो ।
असिमकै म्युजिक कम्पनी जी—२१ को कार्यालयमा रवि र बालेनले करिब ७ घन्टा अन्तरंग कुराकानी गरेका थिए । उनीहरू वार्तापश्चात एउटै गाडीबाट निस्किएको तस्बिर मध्यरातमा भाइरल भयो । यो पनि योजनाबद्ध थियो । असिमले नै दुई नेताहरूलाई एउटै गाडीमा सवार गराएर एकताको सन्देश दिने आइडिया निकालेका थिए ।
त्यसको तीन दिनपछि बालेननिकट कुमार बेनको ज्वागलस्थित घरमा रवि र बालेनको दोस्रो तथा निर्णायक वार्ता भयो । त्यसको प्रतिफलस्वरूप पुस १२ गते रातिदेखि अन्तिम वार्ता भएर १३ गते विहान रवि र बालेनले सहमतिपत्रमा हस्ताक्षर गरे । यो वार्ता र सहमति असिमकै कार्यालयमा भएको थियो ।
कतिपयले रवि र बालेनलाई अदृष्य शक्तिले मिलाइदिएको पनि दाबी गर्छन् । असिम भने यस्तो सुन्दा हाँस्छन् ।
‘अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ,’ उनी भन्छन्, ‘सात—आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासको समान लक्ष्यले यो सहयात्रा सम्भव भएको हो । ’
शाह मन र दिमाग दुवै मिलेर भएको एकता भएको बताउँछन् । यो सहयात्रा लामो समयसम्म जाने विश्वास उनको छ ।
‘छरिएर रहेका वैकल्पिक शक्ति एउटै प्लेटफर्म, एउटै भाँडो आवश्यक थियो। आजको मितिमा त्यो प्लेटफर्म रास्वपा नै हो,’ उनी भन्छन् । साहको भनाइमा सहयात्राको मुख्य राजनीतिक सन्देश नै रास्वपाको सरकार र बालेन शाह प्रधानमन्त्री हो । अहिले रास्वपाले संसदीय दलको नेताका रूपमा बालेनलाई अघि सारिसकेको छ ।
‘देश चुनावतर्फ जान्छ कि जाँदैन भन्ने अनिश्चितता थियो । संसद् पुनःस्थापनाको चलखेल र सरकार ढाल्ने प्रयास चलिरहेका थिए । तर बालेन र रवि एक ठाउँमा आएपछि देश चुनावतर्फ होमिएको हो,’ उनले भने ।
चुनावका लागि दलहरुले मनोनयनपत्र दर्ता गरिसकेका छन् । समानुपातिकको बन्दसूची पनि पेश भइसकेको छ । तर, साह दाजुभाइ भने न बन्दसूचीमा छन् न खुला प्रतिस्पर्धामा ।
यसअघि रास्वपाको बन्दसूचीमा आसिफ साह समेटिएका थिए । उनलाई मुस्लिम पुरुष क्लस्टरमा एक नम्बरमा राखिएको थियो । उनी सांसद निर्वाचित हुने पक्कापक्कीजस्तै थियो ।
तर, सामाजिक सञ्जालमा कतिपयले दाजु र भाइ पालैपालो समानुपातिक सांसद बन्न खोजेको भन्दै प्रश्न उठाएपछि आसिफ पछि हटे । उनले बन्दसूचीबाट नाम फिर्ता लिएर काठमाडौं ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिन सक्ने संकेत गरे । तर, अन्तमा उनी प्रत्यक्षमा पनि लडेनन् ।
आसिफलाई बालेनको कोटाबाट बन्दसूचीमा राखिएको थियो । प्रत्यक्षमा उनले रोजेको काठमाडौं ५ मा बालेनकै कोटाबाट अस्मित पोखरेललाई उठाइएको छ । पोखरेल बालेनकै सचिवालयका सदस्य हुन् । आसिफ–असिमसँग सहमतिमै पोखरेललाई उम्मेदवार बनाइएको हो ।
त्यसो त बालेनले असिम र आसिफ दुवैलाई संसदमा ल्याउन चाहेका थिए । तर, रास्वपाको विधानमा एउटै परिवारका सदस्य एउटै पदमा बस्न नमिल्ने प्रावधान छ । यही प्रावधानले गर्दा असिमको उम्मेदवारीमा अन्यौल पैदा भएको थियो । आसिफ बन्दसूचीबाट बाहिरिएपछि असिमले काठमाडौबाट उठ्ने तयारी गरे । रास्वपाले उनलाई काठमाडौं ४ मा गगन थापाविरुद्ध उठाउन चाहेको थियो । तर कांग्रेसमा विद्रोह गर्दै गगन थापा सभापति बनेपछि असिमले उनीविरुद्ध प्रतिस्पर्धा गर्न नचाहेको बताइन्छ ।
आसिमले ४ मा नलड्ने मनस्थिति बनाएपछि पुकार बमलाई त्यहाँ उम्मेदवार बनाइयो । यता अन्तिम समयमा गगनले पनि आफ्नो निर्वाचन क्षेत्र फेरेर सर्लाही झरे । पुकारलाई उठाउने पार्टीले निर्णय गरिसकेको हुँदा असिमले फेरि त्यहाँ आफ्नो दावी प्रस्तुत गर्नु उचित ठानेनन् ।