बालेनलाई गोली हान्छु भन्ने व्यक्तिको खोजी सुरु
काठमाडौं—साइवर व्युरोले बालेनलाई गोली हान्छु भन्ने व्यक्तिको खोजी सुरु गरेको छ ।
झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका शाहलाई गोली हान्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओबारे ब्युरोले अनुसन्धान सुरु गरेको हो ।
टिकटक लाइभमार्फत बालेन झापा पुगेको समयमा लखेट्ने, बाटो छेक्ने, कुटपिट गर्ने, कालोमोसो दल्ने तथा गोली हान्ने वातावरण बनाउनुपर्नेसम्मको धम्की दिइएको छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सामाजिक सञ्जालमा प्रमुख शाहमाथि भौतिक आक्रमण गर्ने योजना बुनिएको भन्ने भिडिओका सम्बन्धमा अनुसन्धान भइरहेको पुष्टि गरे । “टिकटक लाइभमार्फत ज्यान मार्ने धम्की दिने कार्य प्रचलित कानुनविपरीत र दण्डनीय छ,” प्रवक्ता अवस्थीले भने, “हामीले यस विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”
भाइरल भिडिओमा केही व्यक्तिले बालेनझापा पुगेको समयमा गोली हान्ने वातावरण बनाउनुपर्ने भन्दै उत्तेजक संवाद गरेका छन् ।
संवादमा संलग्न एक व्यक्तिले झापा क्षेत्र नं. ५ का प्रतिनिधिसँग कुरा भइसकेको र सर्वदलीय बैठककै क्रममा गोली हान्न तयार रहेको दाबी गरेका छन् । उनीहरूले शाहलाई लखेट्ने, बाटो छेक्ने, कुटपिट गर्ने र कालोमोसो दल्नेसम्मका धम्की दिएका छन् ।
प्रहरीले सामाजिक सञ्जालमा लहडको भरमा कसैलाई ज्यान मार्ने वा भौतिक आक्रमणको धम्की नदिन समेत आग्रह गरेको छ । यस्ता गतिविधिले गम्भीर कानुनी झन्झट निम्त्याउने भन्दै प्रवक्ता अवस्थीले सचेत रहन सुझाव दिएका छन् ।