मृत्यु र जीवनको दोसांधमा रहेका जेनजी युवालाई भेट्न दुर्गा प्रसाई माइतीघर पुगे
काठमाडौं-मृत्यु र जीवनको दोसांधमा रहेका जेनजी युवालाई भेट्न दुर्गा प्रसाई माइतीघर पुगेका छन् ।
निर्वाचनका गतिविधि तत्काल स्थगित गरेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत ६ बुँदे माग गखेर अनसनरत सोडारीलाई समर्थन गर्न प्रसाई अनसनस्थल पुगेका हुन् ।
सोडारीका मागमा प्रसाईले समर्थन जनाउँदै माग पुरा गर्न प्रधानमन्त्री सुशीला कार्कीमाथि दबाब दिनुपर्ने बताए ।
सो क्रममा प्रसाईले सोडारीसँग आफू पनि संघर्षमै रहेको बताएका छन् । निर्वाचनका गतिविधि तत्काल स्थगित गरेर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने सोडारीको मागमा प्रसाईले समर्थन समेत जनाए ।
सोडारीसँग वार्ताको लागि गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका केही व्यक्तिहरु माइतीघर पुगेको बताइन्छ । तर प्रसाईले ‘यो विषय गृहमन्त्रीको सचिवालयबाट सम्भव हुँदैन’ भन्दै प्रधानमन्त्रीमाथि दबाब बढाउन सल्लाह दिएका छन् ।
सोडारी अनशन बसेको आज आठौँ दिन हो । हिजो उनको स्वास्थ्य अवस्था सिकिस्त बनेपछि मेडिकल टिम माइतीघरमै पुगेको थियो ।
मिराज ढुंगाना समूहका अभियन्ता सोडारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारवाही गर्नुपर्ने, संविधान संशोधन तथा पुनर्लेखन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने, हिरासतमा रहेका जेनजी अभियन्ताहरुलाई निशर्त रिहा गर्नुपर्ने लगायत माग राख्दै आएका छन् ।