बिचैमा काठमाडौँ फर्किन लागे बालेन

शुक्रबार, १६ माघ २०८२

चुनाव प्रचारका लागि पश्चिम नेपालको यात्रामा रहेका बालेन साहले प्रचार कार्यक्रम स्थगित गरेर अचानक काठमाडौँ फर्किने भएका छन् ।

लुम्बिनी, सुदूरपश्चिम हुँदै कर्णालीको कालिकोट पुगेका बालेन जुम्लासमेत नपुुगी कार्यक्रम स्थगित गरेर काठमाडौँ फर्किन लागेका हुन् ।

काठमाडौंमा अचानक काम परेपछि बालेन विचैबाट फर्किन परेको रास्वपाका नेताहरुले बताएका छन् ।

उनी आज जुम्लासम्म पुग्ने योजना भएपनि अन्तिम अवस्थामा कार्यक्रम स्थगित गरेर काठमाडौँ फर्किन लागेका हुन् ।

बालेन जुम्ला नजाने भएपछि त्यहाँकी प्रतिनिधिसभा सदस्य उम्मेदवार विनिता कठायत स्वयं भेटघाटको लागि दिउँसो कालिकोट झरेकी थिइन् ।

अचानक काठमाडौँ फर्किन लागेका बालेनले भोलि पार्टी सभापति रवि लामिछानेसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कालिकोटबाट बालेनलाई बिदा गरेका एक जेनजी अभियन्ताले भने, ‘भोलि उहाँको काठमाडौँमा महत्वपूर्ण काम छ, सभापतिज्यूसँग पनि भेट्नेजस्तो कुरा गर्दै हुनुहुन्थ्यो, त्यसपछि केही दिनमा झापा जानुहुन्छ होला ।’

प्रतिनिधिसभा निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बालेन माघ ५ गतेदेखि देश दौडाहामा छन् । जनकपुरबाट चुनाव प्रचार अभियान शुरु गरेका उनले यसअघि पूर्वी पहाडी जिल्लाको भ्रमण गरेका थिए ।