झापा ५ मा सरकारले सुरक्षाका लागि एसएसपीलाई खटाउने

शुक्रबार, १६ माघ २०८२

काठमाडौं—सुरक्षाका हिसावले निकै संवेदनशील रहेको झापा ५ मा सरकारले सुरक्षाका लागि एसएसपीलाई खटाउने भएको छ ।

झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह आमने–सामने हुँदैछन् ।

एमाले र रास्वपाले दुई उम्मेदवारलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । झापामा अहिले एसपी बसुन्धरा खड्काले सुरक्षाको कमाण्ड गरेकी छन् ।

प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट भिडन्त हुने ठाउँहरूमा नेपाल प्रहरीको विशेष तयारी रहेको छ ।

२१ फागुनमा हुने निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै त्यस्ता ठाउँहरूमा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार सुरक्षा थ्रेट हुनसक्ने ठाउँहरूको पहिचान गरी उच्च सतर्कता अपनाइएको छ ।

हेभिवेट उम्मेदवार प्रतिस्पर्धा हुने ठाउँहरूमा स्वभाविक रुपमा सुरक्षा चुनौती बढ्ने नै भयो । सोही अनुसार हामीले विशेष कमान्ड बनाएर खटाउने तयारी गरेका छौं,’ प्रवक्ता काफ्लेले भने ।

त्यसका लागि प्रहरीले आन्तरिक रुपमा गृहकार्य समेत सुरु गरेको छ । त्यस्ता ठाउँहरू तथा जिल्लाको पहिचान गरेर एसएसपीको कमान्ड खटाउने तयारी गरिएको छ ।