रवि लामिछाने र हर्क साम्पाङका उम्मेदवारलाई हराउन ठूला तीन पार्टीले अघोषित गठबन्धन गर्ने

शनिबार, १७ माघ २०८२

काठमाडौं—रवि लामिछाने र हर्क साम्पाङका उम्मेदवारलाई हराउन ठूला तीन पार्टीले अघोषित गठबन्धन गर्ने भएका छन् ।

सुनसरी १ को निर्वाचनमा रास्वपाकी गोमा तामाङ र श्रम संस्कृतिका हर्क साम्पाङलाई हराउन एमाले, कांग्रेस र नेकपाले अघो्षित गठबन्धन गर्ने भएका हुन् ।

उनीहरुलाई कुनैपनि हालतमा जित्न दिनुहुँदैन भन्ने मनोविज्ञान सबै पार्टीमा देखिएकाले गठबन्धन गर्न लागिएको नेताहरुले बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले सुनसरी क्षेत्र नम्बर १ लाई देशव्यापी चर्चामा ल्याएको छ ।

यसअघि धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी बनेका हर्कराज राई (साम्पाङ) सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।

श्रम संस्कृति पार्टी दर्ता गरेर माटो चुनाव चिह्नसहित चुनावमा होमिएका उनी दलीय राजनीतिमा नयाँ हुन् ।

अर्कोतिर काठमाडौँ महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा ०७९ को स्थानीय तह निर्वाचनमा जितेका बालेन्द्र (बालेन) शाह पनि उक्त पदबाट राजीनामा दिई दलीय राजनीतिमा होमिएका छन् ।

बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफूलाई नयाँ राजनीतिक शक्ति नै दाबी गर्दै आएको छ । यद्यपि रास्वपा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएर देशको चौथो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको दल हो ।

त्यस्तै सो क्षेत्रमा विजयी हुँदै आएको नेकपा एमाले, निरन्तर प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेस र कुनैबेला विजयी बनेको तत्कालीन नेकपा माओवादी अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पनि नयाँ नै हुन्, तर ती पार्टीलाई नै पुरानाको दर्जामा जनताले राखेका कारण उनीहरू निर्वाचनमा असुरक्षित देखिन्छन् । सुनसरी–१ मा एमालेले टिकाराम लिम्बु, कांग्रेसले सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले भने सूर्यबहादुर भट्टराईलार्ई अघि सारेको छ ।

सुनसरी–१ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बरसम्मका वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा पर्छ ।
धरान उपमहानगरपालिका वडा १ देखि २० सम्म १ लाख १० हजार ९३९ मतदाता छन् । यस्तै बराहक्षेत्र नगरपालिका १ देखि ५ नम्बर वडासम्म २८ हजार २४१ र रामधुनी नगरपालिका वडा ६ र ७ मा ११ हजार २१३ मतदाता छन् ।

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका तर्फबाट साम्पाङ आफैँ चुनाव मैदानमा छन् । उनले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएका छन् । यस्तै रास्वपाबाट गोमा तामाङ (सरिन) उम्मेदवार बनेकी छन् । २०७९ सालको निर्वाचनमा उनी एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका अशोक कुमार राईसँग पराजित भएकी थिइन् ।

अशोक राईले त्यसबेला १७ हजार ५९ मत ल्याउँदा तामाङले एक्लै १६ हजार ६०६ मत ल्याएकी थिइन् ।

प्रतिनिधि सभा निर्वाचनभन्दा अगाडि स्थानीय तहको निर्वाचनमा साम्पाङले भने एक्लै २० हजार ८२१ मत ल्याएर विजयी बनेका थिए । सोही निर्वाचनमा कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले १६ हजार ५९ मतमात्रै ल्याएका थिए ।

यस्तै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ सो क्षेत्रबाट सबैभन्दा बढी नेकपा एमालेले २० हजार ९८ मत ल्याएको थियो । दोस्रो स्थानमा रास्वपाले १७ हजार २७१, तेस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ११ हजार ७५०, राप्रपाले ९ हजार ७६८ र माओवादी केन्द्रले ४ हजार ६५६ मत ल्याएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा सो क्षेत्रको सबै वडाध्यक्षको मत हेर्दा एमालेको ३३ हजार ३९३, कांग्रेसको २७ हजार ६६४ र तत्कालीन माओवादी केन्द्रको ७ हजार १८ मत थियो ।

यद्यपि उल्लेखित तथ्याङ्ककै आधारमा आउँदो निर्वाचनको जित हारको विश्लेषण गर्न सकिँदैन । किनकि अहिलेको परिस्थिति बेग्लै रहेको सुनसरी–१ कै स्थानीय बताउँछन् । उक्त क्षेत्रमा यस पटकको लडाइँ पुराना भर्सेस नयाँमात्र छैन, बरु नयाँ भर्सेस नयाँको रोचक भिडन्त हुने उनीहरू दाबी गर्छन् ।