सरकार आफूलाई हराउन लाग्ने ओलीको डर, भने-धाँधली भए परिणाम स्वीकार्य हुन्न

शनिबार, १७ माघ २०८२

काठमाडौं—केपी शर्मा ओलीले आफूले चुनाव हारे निर्वाचन परिणाम स्वीकार नगर्ने धम्की दिएका छन् ।

सरकारले पक्षधरता देखाएर कसैलाई जिताउने खेल खेलिरहेको आरोप लगाउँदै आफूले चुनाव हार्दा त्यसको परिणाम स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

सरकारले चुनावको मुखमा प्रशासनिक हेरफेर गरेर धाँधलीको तयारी गरिरहेको उनको आरोप छ । ओली झापा ५ बाट बालेन शाहसँग चुनावी मैदानमा छन् ।

शनिबार ओखलढुंगा—काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा प्रशासनिक हेरफेर गरेर धाँधलीको तयारी गरिरहेको आरोप लगाए।

उनले भने, ‘यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने, त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन।’

देशमा ठुलो अनिष्ट निम्त्याउने गरी निर्वाचनको नाटक नगर्न सरकारलाई सचेत गराउँदै ओलीले भने, ‘सरकारको पक्षधरता कतैपट्टि हुने, कसैलाई जिताउने र कसैलाई हराउने खालका क्रियाकलाप भए भने त्यो भन्दा अनिष्ट केही हुँदैन।’

उनले निर्वाचन आयोगको स्वीकृति लिएर वा नलिईकन ठुलो संख्यामा कर्मचारी र प्रहरीको सरुवा गरिएको भन्दै आक्रोश पोखे।

‘भइरहेका अधिकारीहरू हटाएर, समय नपुग्दै हटाएर अरू कर्मचारी पठाउनुको अर्थ के हो ? के को अनुकूलता मिलाउन खोजिएको हो ?’ ओलीले प्रश्न गरे।

सरकारले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपर्नेमा जोड दिँदै उनले सरकार बिल्कुलै तटस्थ रहनुपर्ने बताए।

‘निर्वाचन गर्ने हो भने स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ,’ उनले भने।