खाडाचक्रमा प्रकाण्डको भव्य स्वागत: केही समयपछि पिपल चौतारामा आमसभा हुने

शनिबार, २४ माघ २०८२

कालिकोट- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई कालिकोटको खाडाचक्र नगरपालिका वडा नम्बर ४, ताडीमा स्थानीय बासिन्दाहरूले भव्य र्‍यालीसहित न्यानो स्वागत गरेका छन्।

सहिद चन्द्र विश्वकर्माको जन्मगाउँ ताडीमा आयोजित यस विशेष कार्यक्रममा प्रकाण्डलाई हेर्न र स्वागत गर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
​एअरपोर्ट भन्दा मुनिको गाउँ र टोलमा पुगेका नेता प्रकाण्डलाई स्थानीय ज्येष्ठ नागरिक, महिला तथा युवाहरूले भव्य र्‍याली र बाजागाजासहित स्वागत गरेका थिए।

सो अवसरमा स्थानीयले अबिरको टिका र माला पहिराएर स्वागत गरेका थिए भने टोलीसँगै आएका सहिद परिवारका सदस्यहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
​गाउँ र टोलमा भव्य स्वागत सम्पन्न भएपछि अब केही समयपश्चात् पिपल चौतारा (सियापुच्ने) मा स्थानीयहरूको व्यापक उपस्थितिमा आम सभाको आयोजना हुनेछ। उक्त सभामा प्रकाण्डले स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

​कार्यक्रममा र्‍याली र बाजागाजासहित स्थानीयको बाक्लो उपस्थिति थियो, जसले ताडीको माहोललाई थप उल्लासमय बनाएको छ। सबैको नजर अहिले पिपल चौतारामा हुने भनिएको सभातर्फ मोडिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिनेश सी ले जानकारी दिए।