कांग्रेस २.१ : परिवर्तनभित्रको निरन्तरता
काठमाडौँ – “२.१” भन्ने संख्या शाब्दिक रूपमा कुनै गणितीय संख्या वा औपचारिक राजनीतिक वर्गीकरण होइन। यो मूलतः प्रविधिको ‘भर्सन’ भाषाबाट राजनीतिमा आएको प्रतीकात्मक पदावली हो। सामान्य अर्थमा १.० ले सुरुआती अवस्था, २.० ले ठूलो संरचनागत परिवर्तन जनाउँछ भने २.१ ले त्यस परिवर्तनलाई परिष्कृत, सुधारिएको र व्यवहारमा परिमार्जित बनाइएको अवस्था जनाउँछ। नेपाली कांग्रेसको सन्दर्भमा “२.१” भन्नाले पार्टीको इतिहास, मूल्य र पहिचान अस्वीकार गर्ने होइनस बरु त्यही ऐतिहासिक आधारमा उभिएर सोच, नेतृत्व शैली, कार्यसंस्कृति र नीतिगत प्राथमिकतालाई समयअनुसार अद्यावधिक गर्ने तात्विक प्रयास हो। यस अर्थमा कांग्रेस २.१ कुनै नयाँ पार्टी निर्माणको घोषणा होइन, न त यथास्थितिको रक्षास यो सुधारमार्फत निरन्तरता खोज्ने वैचारिक तथा संगठनात्मक पुनर्संरचनाको अवधारणा हो।
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक इतिहासको सबैभन्दा पुरानो, संगठित र निर्णायक राजनीतिक शक्ति हो। राणा शासनविरुद्धको संघर्षदेखि गणतन्त्र स्थापना सम्मको लामो यात्रामा कांग्रेसको भूमिका केवल सत्ता–राजनीतिमा सीमित नभई लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र वैचारिक प्रतिबद्धतासँग गहिरो रूपमा गाँसिएको छ। तर यही गौरवशाली इतिहास आज कांग्रेसका लागि शक्ति मात्र नभई, कतिपय अवस्थामा बोझको रूपमा पनि देखा पर्न थालेको छ। बदलिँदो सामाजिक संरचना, नयाँ पुस्ताको राजनीतिक चेतना र परिणाममुखी शासनप्रतिको बढ्दो जनअपेक्षाबीच कांग्रेस आफैंलाई पुनर्परिभाषित गर्नुपर्ने दबाबमा छ। यही सन्दर्भमा पछिल्ला वर्षहरूमा उठेको अवधारणा हो— “नेपाली कांग्रेस २.१”।
२.१ को अर्थ : संख्याभन्दा सन्देश
“२.१” कुनै औपचारिक राजनीतिक दस्तावेजमा अंकित शब्द होइन। यो राजनीतिक सन्देश बोकेको प्रतीकात्मक अवधारणा हो। यसले “सबै गलत थियो” भन्ने क्रान्तिकारी नकारात्मकता होइन, बरु “धेरै कुरा सही थिए, तर अब पर्याप्त छैनन्” भन्ने यथार्थपरक स्वीकारोक्ति प्रस्तुत गर्छ।यस अर्थमा कांग्रेस २.१ ले अतीतलाई विस्थापन गर्ने होइन, अतीतबाट सिक्दै भविष्य निर्माण गर्ने मार्ग देखाउँछ।
किन कांग्रेसलाई २.१ चाहियो ?
नेपाली कांग्रेस आज गहिरो आत्मसमीक्षाको चरणमा उभिएको छ। पार्टीसँग ऐतिहासिक वैधता र लोकतान्त्रिक श्रेय छ, तर त्यो इतिहास मात्र आजका जटिल राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधानका लागि पर्याप्त देखिँदैन। सरकारमा पुगेपछि अपेक्षित सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्याय दिन नसकेको आरोप कांग्रेसमाथि निरन्तर लाग्दै आएको छ। आन्तरिक रूपमा गुटबन्दी, निर्णय प्रक्रियाको अपारदर्शिता र नेतृत्वमा पुस्तान्तरणको अन्योलले पार्टीलाई संस्थागत रूपमा कमजोर बनाएको छ। युवापुस्ताले कांग्रेसलाई परिवर्तनको संवाहक होइन, यथास्थितिको प्रतिनिधिका रूपमा हेर्न थाल्नु कांग्रेसका लागि गम्भीर चेतावनी हो। यही कारण, कांग्रेसलाई पूर्ण रूपमा विस्थापित हुनबाट जोगाउने र पुनः जनआस्थाको केन्द्रमा ल्याउने उपायका रूपमा “कांग्रेस २.१” को बहस अघि आएको हो।
कांग्रेस २.१ का मूल तत्वहरू
नेपाली कांग्रेस २.१ को अवधारणा केही आधारभूत स्तम्भमा आधारित देखिन्छ।
पहिलो, पुस्तान्तरण यो केवल उमेरको परिवर्तन होइनस सोच, शैली र जिम्मेवारीको हस्तान्तरण हो। अनुभवी नेतृत्वको मार्गदर्शन र युवाको ऊर्जा बीच सन्तुलन कायम गर्नु कांग्रेस २।१ को मूल आत्मा हो। दोस्रो, नीतिगत स्पष्टता र परिणाममुखी राजनीति नारा, भावनात्मक भाषण र विगतको गौरवभन्दा बाहिर निस्केर शिक्षा, रोजगारी, अर्थतन्त्र, जलवायु परिवर्तन र डिजिटल रूपान्तरण जस्ता समकालीन मुद्दामा स्पष्ट रोडम्याप आवश्यक छ। तेस्रो, आन्तरिक लोकतन्त्र र सुशासनटिकट वितरणदेखि नेतृत्व चयन र निर्णय प्रक्रियासम्म पारदर्शिता र जवाफदेहिता बिना कांग्रेस २।१ व्यवहारमा रूपान्तरण हुन सक्दैन।
चौथो, गुटभन्दा संस्था. कांग्रेस २.१ ले व्यक्तिकेन्द्रित शक्ति राजनीतिभन्दा माथि उठेर संस्थागत पार्टी संस्कृतिको सुदृढीकरणको माग गर्छ। सान्दर्भिकता : सुधार कि विस्थापन आजको नेपाली राजनीतिमा कांग्रेसजस्ता परम्परागत दलहरूसामु दुई स्पष्ट विकल्प छन्—सुधार भएर टिक्ने वा यथास्थितिमा अड्किएर क्रमशः विस्थापित हुने।
“कांग्रेस २.१” यही ऐतिहासिक दोधारको उत्तर हो। यसले कांग्रेसलाई न त एकाएक नयाँ पार्टी बन्न बाध्य बनाउँछ, न त पुरानै ढाँचामा जड भएर बस्न दिन्छ। बरु, यो अवधारणाले कांग्रेस र नयाँ पुस्ताबीचको दूरी घटाउने संक्रमणकालीन पुलको भूमिका खेल्न सक्छ।
चुनौती र जोखिम तर कांग्रेस २.१ को यात्रा सहज छैन। नेतृत्व तहको प्रतिरोध, पुरानो शक्ति संरचनाको जडता र सुधारलाई घोषणामा मात्र सीमित गर्ने प्रवृत्ति यसको मुख्य चुनौती हुन्। यदि २.१ व्यवहारमा होइन, भाषण, नारा र बौद्धिक छलफलमै सीमित रह्यो भने यसले पार्टीको विश्वसनीयता झन् कमजोर बनाउने जोखिम पनि बोकेको छ।
निष्कर्ष
नेपाली कांग्रेसको सन्दर्भमा २.१ भनेको इतिहासको अस्वीकार होइन, इतिहासको पुनःअर्थ्यांकन हो। यो विगतको गौरवमा मात्र बाँचेको कांग्रेस होइन,
विगतबाट सिकेर भविष्यतर्फ सचेत रूपमा अघि बढ्न खोजेको कांग्रेसको अवधारणा हो। यदि व्यवहारमा रूपान्तरण गर्न सकियो भने,कांग्रेस २.१ नेपाली लोकतन्त्रको पुनर्जागरणको आधार बन्न सक्छ। नत्र, यो अर्को आकर्षक तर अपूरो नारा बन्ने जोखिम सधैं रहनेछ।