रास्वपाको चुनावी रणनीति : काठमाडौंका दुई क्षेत्र र चितवन ‘ग्रीन जोन’मा, एक सय ५१ सिट जित्ने महत्वकांक्षी लक्ष्य

बिहिबार, २९ माघ २०८२

काठमाडौं—रास्वपाले एक सय ५१ सिट जित्ने लक्ष्यसहित चुनावी रणनीति तयार पारेको छ ।

‘हाइटेक’ प्रचार शैली अपनाएको रास्वपाले १६५ निर्वाचन क्षेत्रलाई ‘रेड’, ‘एल्लो’ र ‘ग्रीन’ जोनमा वर्गीकरण गरेको छ ।

काठमाडौंका क्षेत्र नम्बर ८ र ९ तथा चितवनका तीनवटै क्षेत्र ‘ग्रीन जोन’मा परेका छन् भने सामान्य संगठन बनेका क्षेत्रलाई एल्लो जोनमा राखिएको छ ।

भौगोलिक विकटता र संगठन कमजोर रहेका क्षेत्रहरूलाई ‘रेड जोन’ मा राखिएको छ। यो वर्गीकरणका आधारमा शीर्ष नेताहरूको दौडाहा र प्रचारको प्राथमिकता निर्धारण गरिनेछ।

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारीमा रहेको पार्टीले संगठन विस्तार र मत संरक्षणका लागि निर्वाचन क्षेत्रहरूलाई ‘रेड’, ‘एल्लो’ र ‘ग्रीन’ जोनमा वर्गीकरण गरेर सोही अनुसारको शक्ति परिचालन गर्ने रणनीति बनाएको छ।

बनस्थलीस्थित केन्द्रीय कार्यालयबाटै निर्वाचनको कमाण्ड कन्ट्रोल गरिरहेको रास्वपाले उम्मेदवारलाई आर्थिक सहयोग नगर्ने तर ‘प्राविधिक र डिजिटल’ सहयोग भने गर्ने नीति लिएको छ।

तीन विशेष कमाण्ड टोली
चुनावलाई व्यवस्थित र प्रभावकारी बनाउन रास्वपाले केन्द्रीय कार्यालयमा फागुन २१ गतेसम्मका लागि तीनवटा विशेष कार्यदल गठन गरेको छ। सूचना तथा सञ्चार, सुरक्षा र आन्तरिक समन्वयका लागि यी टोलीहरू सक्रिय भएका छन्।

मिडियामा आउने भ्रामक समाचार र अफवाह चिर्न ‘तथ्य जाँच’समूह बनाइएको छ, जसको नेतृत्व पूर्व सह—प्रवक्ता प्रतिभा रावलले गरेकी छिन्।

त्यस्तै, सुरक्षा सम्बन्धी चुनौतीहरूको विश्लेषण र तत्काल सम्बोधनका लागि केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठको नेतृत्वमा अर्को टोली खटिएको छ। आन्तरिक समन्वय र व्यवस्थापनको जिम्मा भने केन्द्रीय सदस्य रामकृष्ण भट्टराईको नेतृत्वमा रहेको टोलीले पाएको छ।

पार्टीको संगठन विभाग प्रमुख शंकर श्रेष्ठले यी टोलीहरूको कामबारे प्रष्ट पार्दै भने, ‘मिडिया डेस्कले अहिले मिडियामा फैलिरहेको अफवाहहरूको निगरानी गर्दै मिडियामार्फत नै फ्याक्ट फाइन्डिङ गर्छ। यी तीन टोलीले केन्द्रबाट नै हाम्रो चुनावी रणनीतिहरू अवलम्बन गर्ने गर्छन् अनि सबै निर्वाचन क्षेत्रमा काम गर्छन्।’

केन्द्रदेखि वडासम्मको निर्वाचन परिचालन
निर्वाचन परिचालनलाई चुस्त बनाउन उपसभापति डोलप्रसाद (डिपी) अर्यालको नेतृत्वमा ५१ सदस्यीय ‘संघीय निर्वाचन सम्पादन समिति’ गठन गरिएको छ। संगठन विभाग प्रमुख श्रेष्ठ यस समितिका सदस्य सचिव हुन्।

केन्द्रको यो संरचना तलसम्मै विस्तार गरिएको छ। प्रदेशमा एकजना सचिवसहित २१ जनाको र जिल्लामा १५ जनाको निर्वाचन परिचालन टोली बनाइएको श्रेष्ठले जानकारी दिए।

‘त्यसबाहेक निर्वाचन क्षेत्रमा पालिका समितिका सबै सभापतिहरूले हेर्ने र वडा कमिटीले पनि सहयोग गर्ने गरी संरचना तयार भएको छ,’ उनले भने।

पार्टीले निर्वाचनका लागि प्रदेशगत कमाण्डरहरू समेत तोकेको छ। कोशी प्रदेशमा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, मधेशमा डा. नमिता यादव, बागमतीमा सरिता ज्ञवाली, गण्डकीमा तोयानाथ अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूरपश्चिममा डा। कृष्ण भेटवालले चुनावी कमाण्ड सम्हालिरहेका छन्।

‘रेड, ग्रीन र एल्लो जोन’ को रणनीति
रास्वपाले आफ्नो संगठनात्मक शक्ति र जनमतको आधारमा निर्वाचन क्षेत्रहरूलाई तीन रङमा वर्गीकरण गरेको छ, रेड, एल्लो र ग्रीन जोन। यो वर्गीकरणका आधारमा शीर्ष नेताहरूको दौडाहा र प्रचारको प्राथमिकता निर्धारण गरिनेछ।

‘ग्रीन जोन’ भन्नाले पार्टीको संगठन बलियो भएको र जित्ने सम्भावना उच्च रहेका क्षेत्रहरू हुन्। काठमाडौंका क्षेत्र नम्बर ८ र ९ अनि चितवनका तीन क्षेत्रहरूलाई रास्वपाले ‘ग्रीन जोन’मा राखेको छ। अर्कोतर्फ, भौगोलिक विकटता र संगठन कमजोर रहेका पहाडी तथा हिमाली क्षेत्रहरूलाई ‘रेड जोन’ मा राखिएको छ।

संगठन विभाग प्रमुख श्रेष्ठका अनुसार पार्टीको मुख्य ध्येय रेड जोनलाई एल्लोमा र एल्लो जोनलाई ग्रीन जोनमा परिणत गर्नु हो।

‘यति नै भनेर अहिले हामीले लोकेट त गर्न बाँकी नै छ। तर, जसरी हुन्छ रेड जोनमा भएकोलाई एल्लो जोनमा र एल्लो जोनमा भएकोलाई ग्रीन जोनमा लाने हाम्रो टार्गेट छ। हामी त सबै क्षेत्र ग्रीन नै होऊन् भन्ने चाहन्छौं’, श्रेष्ठले भने।

शीर्ष नेताहरूको चुनावी दौडाहा पनि यही ‘जोन’ रणनीतिमा आधारित हुनेछ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को उपस्थितिलाई रणनीतिक रूपमा प्रयोग गरिनेछ।

श्रेष्ठ भन्छन्, ‘विशेषगरी हाम्रो अहिले प्रमुख दुई नेता पार्टी सभापतिज्यू र वरिष्ठ नेताज्यू सकेसम्म उम्मेदवारी पुगेको सबै क्षेत्रमा पुग्ने भन्ने हो। अब कति भ्याइन्छ त्यो हेर्न नै बाँकी छ। कतिपय ठाउँमा सँगै जाने र कतिपय ठाउँमा रणनीतिक रूपमा छुट्टिएर जाने पनि तयारी हो।’