१० बर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले गरे पुनः युद्ध लड्ने घोषणा
काठमाडौं—१० बर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले पुनः युद्ध लड्ने घोषणा गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आर्थिक आत्मनिर्भरताका लागि युद्ध लड्ने घोषणा गरेका हुन् । क्रान्तिको स्वरूप फेरिएको बताउँदै प्रचण्डले अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताएका छन् ।
नयाँ युद्ध, उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झण्डा रुकुम पूर्वबाट फहराउने उनको भनाई छ ।
संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै प्रचण्डले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिए ।
त्यसका लागि कानुन संशोधन गरिए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम रोकिएको उनको भनाइ थियो ।
विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले अबको ‘युद्ध उत्पादनको युद्ध’ हुने बताए । स्टार्टअप कार्यक्रमलाई कार्यकर्ता पोस्ने माध्यम बनाइएको आरोप लगाउँदै उनले सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सकिने दाबी गरे ।
उनले अत्यावश्यक औषधि सरकारीस्तरमै उत्पादन गर्ने योजना, ‘हिमाल समृद्धि कार्यक्रम’, प्रस्तावित मेगा फुडपार्क, इको टुरिज्म, हिल स्टेसन तथा गण्डकी त्रिभुज परियोजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गरे ।
पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नपाउँदा राम्रा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव सुनाउँदै उनले दोहोरो जिम्मेवारी भएका निकायहरू गाभ्ने, संघीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति–बजेट प्रक्रियामा सुधार गर्ने प्रयासहरू अधुरै रहेको बताए ।
निजामती र शिक्षा विधेयक पर्याप्त बहुमत अभावका कारण पारित हुन नसकेको उल्लेख गर्दै उनले आफूहरू तेस्रो शक्ति हुँदाहुँदै पनि संविधान कार्यान्वयन र समृद्धिका लागि महत्वाकांक्षी योजना ल्याएको दाबी गरे । मिटरब्याजलाई अपराध घोषणा गरी कारबाही प्रक्रिया अघि बढाइएको तथा भुटानी शरणार्थी, बालमन्दिर र त्रिभुवन विश्वविद्यालयको जग्गा प्रकरणमा छानबिन गर्दा विचौलिया तत्त्व आत्तिएको उनको भनाइ थियो ।
कुशासन र भ्रष्टाचार बढ्दै जाँदा जनताको आक्रोशले व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी आफूले पटकपटक दिएको उल्लेख गर्दै उनले वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गरे । ‘मेरो आजको लडाइँ रुकुमको समृद्धि र समग्र देशको विकासका लागि हुनेछ,’ उनले भने ।