मकवानपुरको सिंगो गाउँ नै बन्यो नेकपमय

आइतबार, ३ फाल्गुन २०८२

काठमाडौँ – मकवानपुरको एक गाउँ नेकपामय बनेको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–४ जुरेलीको माझी गाउँका सम्पूर्ण स्थानीय एकैसाथ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

सनिबार मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बवजय गौतमलाई विजयी गराउन एमाले, कांग्रेस, राप्रपा लगायत पार्टीमा आवद्ध स्थानीय नेकपा प्रवेश गर्दै संगठित भएका हुन् ।

गाउँ नै एकैसाथ पार्टीमा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्काको रूपमा हेरिएको छ ।स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशले उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको चर्चा छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले भावुक तर दृढ स्वरमा आफू पहिलोपटक चुनावी मैदानमा आएको र राम्रो काम गर्ने प्रतिबद्धताका साथ अघि बढेको बताए ।

‘म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन, फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु,’ उनले भने ।

गौतमले शिक्षा, रोजगारी, ढल–शौचालय, खेलमैदान, बाढी–पहिरो नियन्त्रणलगायत स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्‍याउने भरिया बनेर काम गर्ने प्रतिबद्धता जनाए ।