केपी ओलीले चुनावी रणनीति बदले

आइतबार, ३ फाल्गुन २०८२

काठमाडौं—बालेन शाह देशदौडाहमा निक्लिएको मौका छोपेर केपी ओलीले चुनावी रणनीति बदलेका छन् ।

निश्चित स्थानमा सभा र मतदाता भेटघाट गर्नेगरी तयार पारेको चुनावी रणनीति बदलेर ओलीले सबै मतादातासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने रणनीति अपनाएका छन् ।

ओलीले सकभर मतदाताको घरघरमा आफैँ पुग्ने, गुनासा सुन्ने र आफू पुग्न नसकेका मतदाता कहाँ कार्यकर्ता खटाएर गुनासा सुन्ने र टिपोट गर्न लगाएका छन् ।

झापा ५ का उम्मेदवारहरूमध्ये मुख्यगरी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बालेनको बढ्दो क्रेजसँगै ओलीलाई झापामा चुनाव जित्न कठिन हुने विश्लेषण भइरहेका बेला ओलीले पनि आफ्नो पुरानो रणनीति बदलेर आफै मतदातामाझ पुग्ने प्रयासमा छन् ।

प्रतिस्पर्धी शाह दुई चरणमा झापा पुगेर त्यहाँका मतदातासँगको भेटघाटपछि अन्य क्षेत्रमा समेत ‘रोड सो’ मा लागिरहेका बेला ओलीले भने मतदाताको घरदैलो नै रोजेका हुन् ।

माघ ६ मा उम्मेदवारी दर्ता गरेयता ओली प्राय झापामै रहेका छन् । उम्मेदवारी दर्ता गरेर काठमाडौँ फर्केका ओली पुन माघ अन्तिम साता झापा गएका थिए ।

माघ अन्तिम साता झापामा रहँदा ओली झापा ५ का विभिन्न स्थानमा पुगेर मत माग्नुका साथै मतादाताका समस्या सुन्ने काम गरेका थिए । एक साता मतदातामाझ बिताएका ओली केही दिनका लागि काठमाडौँ बसेर आइतबार पुन झापा फर्किसकेका छन् ।

गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ आएका ओली आज फेरि झापा फर्केका हुन् । झापा ओर्ले लगत्तै ओलीले शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागिता जनाएका छन् ।

त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन् । यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ ।

दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ओलीको अनुपस्थितिमा पनि झापामा घरदैलोलाई तीव्र बनाइएको छ । त्यस्ता घरदैलो र भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटीमा रहने सबै पदाधिकारी तथा सदस्यहरू,जनवर्गीय सङ्गठनमा आबद्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, स्थानीय टोल र मतदाताका घरमा पुगेर भेटघाट र छलफललाई जारी राखेको एमालेले जनाएको छ ।

त्यस क्रममा जनताबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका विषयलाई सम्बोधन गरिने जनाइएको छ ।

झापा ५ को निर्वाचन क्षेत्र अन्तर्गतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन समेत आग्रह गरिएको छ ।