नेकपा माओवादीद्वारा बाबुराम भट्टराईका बुवाको निधनप्रति समवेदन व्यक्त
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको निधनप्रति समवेदन व्यक्त गरेको छ । पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल (शीलु सी)को नेतृत्वमा गएको टोलीले बुवा भोजप्रसादलाई श्रद्धाञ्जली दिदै परिवारजनमा गहिरो समवेदन व्यक्त गरेको छ ।
शीलुको नेतृत्वमा स्थायी समिति सदस्य भरत बम (रणवीर सी), प्रतिनिधिसभा सदस्य गोर्खा क्षेत्र नम्बर २ का माओवादीका प्रत्यक्षतर्फका उम्मेदवार टेक प्रधान, मजदुर नेता रामचन्द्र थापा, युवा नेता जनक महतारा लगायतको टोली क्रियापुत्री भवन सहयोगी नगर पुगेर समवेदन व्यक्त गरेको हो । भट्टराईको ९७ वर्षको उमेरमा माघ २२ गते बिहीबार बिहान निधन भएको थियो ।
‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पुजनीय पीता श्री भोजप्रसाद भट्टराईको ९७ बर्षको उमेरमा भएको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं ।’, नेकपा माओवादीले शोक पुस्तिकामा बुवाप्रति श्रद्धाञ्जली दिदै लेखेको छ, ‘मृतक पीता प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै डा. बाबुराम भट्टराई लगायत शोकमा रहेका घर–परिवार, आफन्त, शुभचिन्तक सबैप्रति समवेदन प्रकर्ट गर्दछौं ।’
माओवादीले बुवाको श्रद्धाञ्जलीपत्र सहितको समवेदनपत्र समेत भट्टराईलाई हस्तान्तरण गरेको थियो । समवेदनपत्र हस्तान्तरणपछि सामान्य राजनीतिक कुराकानी भएको थियो ।
