एमालेले चुनावी प्रचारलाई स्थगित गरेर उम्मेदवारलाई काठमाडौं बोलायो
काठमाडौं – नेकपा एमालेले चुनावी प्रचारलाई स्थगित गरेर आफ्नो उम्मेदवारलाई काठमाडौं बोलाएको छ । केपी शर्मा ओलीको निर्देशनमा प्रत्यक्षतर्फका महिला उम्मेदवारलाई फागुन ६ गतेभित्र काठमाडौं आइपुग्नेगरी बोलाइएको हो । उनीहरुलाई किन बोलाइएको भन्नेबारे खुलाइएको छैन ।
चुनावी व्यस्ततामा रहेका उनीहरूलाई फागुन ६ गतेभित्र काठमाडौं आइसक्न केन्द्रीय कार्यालयले खबर गरेको हो । एक उम्मेदवारका अनुसार एक दिनको लागि मात्र चुनावी कार्यक्रम स्थगित गर्न भनिएको छ । एमाले केन्द्रीय कार्यालयले आन्तरिक कारणले बोलाइएको भएपछि अरु कुरा सार्वजनिक गर्न चाहेको छैन् ।
एमालेले फागनु ७ गते आफ्नो घोषणा सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । आ–आफ्नो क्षेत्रमा मतदाता र घरदैलो अभियानमा रहेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका शीर्ष नेता पनि काठमाडौं फर्किँदै छन् । महासचिव पोखरेलको सचिवालयका अनुसार ६ गते काठमाडौं आएर उनी ७ गते बेलुकी नै दाङ फर्किने भएका छन् ।
एमालेले १६५ मध्ये १० जना महिलालाई निर्वाचनमा खटाएको छ । जसमा कोशीबाट सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, सुनसरी–३ मा भगवती चौधरी छन् । मधेशबाट बारा–३ मा ज्वालाकुमारी साह, महोत्तरी–४ मा निलम अधिकारी, धनुषा–३ मा जुलीकुमारी महतो, पर्सा–२ मा रिमाकुमारी यादव छन् ।
गण्डकीबाट बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने साथै लुम्बिनीबाट बर्दिया–२ मा विमला विक छन् । तर, समानुपातिक तर्फका महिला उम्मेदवारलाई भने बोलाइएको छैन ।