काठमाडौँमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह

मंगलबार, ५ फाल्गुन २०८२

काठमाडौँ — काठमाडौँ उपत्यकामा मंगलबार वायु गुणस्तर सूचकांक (AQI)  १७८ बाट बढेर आज १९१ पुगेको छ । यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, र श्वास–प्रश्वास तथा मुटुरोगीलाई असर गर्न सक्छ। विश्वव्यापी सूचीमा काठमाडौँ (AQI) अनुसार भारतको दिल्ली र पाकिस्तानको लाहोर पछि तेस्रो स्थानमा परेको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्नेछ। उपत्यकामा सवारी साधनको वृद्धि, डिजेल–पेट्रोलको धुवाँ, निर्माणाधीन सडक र पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो सुक्खा मौसमले प्रदूषण बढाएको छ।

सरकारले वायु गुणस्तर सुधारका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर र भ्याकुम प्रयोग बढाउने, र सार्वजनिक सचेतना जारी गर्ने उपाय योजना अघि सारेको छ। राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु, जल र ध्वनि प्रदूषण मापन केन्द्र स्थापना गरी गुणस्तर नक्साङ्कन गर्ने रणनीति पनि लागू गरिएको छ।