दुर्गा प्रसाईं कम्तीमा २५ दिन हिरासतमा रहने
काठमाडौं—दुर्गा प्रसाईं कम्तीमा २५ दिन हिरासतमा रहने भएका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका प्रसाईंलाई सरकारले कम्तिमा २५ दिन हिरासतमा राख्ने रणनीति बनाएको छ ।
निर्वाचन विथोल्ने धम्कीपछि सोमबार राती पक्राउ परेका प्रसाईंलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले सार्वजनिक मुद्धामा २५ दिनसम्म हिरासतमा राखि अनुसन्धान गर्न पाउँछ ।
भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।
उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए । यसअघि वीरगञ्ज जान लागेका बेला प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यो भन्दा अघि पनि उनी पोखराबाट पक्राउ परेका थिए । निर्वाचनको मिति तोकिएयता मात्रै प्रसाईं तीन पटक पक्राउ परेका हुन् ।
काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनी पक्राउ परेका हुन् । उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भनी निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र लेखेको भट्टराईले बताए । उनलाई एकछिन पनि बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहर बमोजिम राति नै पक्राउ गरिएको उनको भनाइ छ ।
प्रसाईंलाई हिरासतमा राख्नका लागि कार्यालय समय शुरू हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिने प्रवक्ता भट्टराईले बताए ।