जनार्दन शर्माको उम्मेदवार नै नेकपा प्रवेश
काठमाडौँ –२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार शंकर पोख्रेललाई समर्थन गरेपछि प्रलोपाका उमेदवार भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
प्रलोपाबाट दाङ–२ मा उमेदवार बनेका प्रतीक अधिकारीले नेकपाका उमेदवार निर्मल आचार्यलाई समर्थन गर्ने भएका हुन् । अधिकारीले बुधवार घोराहीमा पत्रकार सम्मेलन गर्दै फागुन २१ गते हुने निर्वाचनमा आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपाका उमेदवार आचार्यलाई समर्थन गरेको जानकारी गराए ।
अधिकारीले राष्ट्रिय हित र वाम एकताका लागि आफूले नेकपाका उमेदवारलाई सहयोग गरेको बताए ।यता, प्रलोपा दाङ जिल्ला संयोजक घनश्याम डाँगीले मंगलबार विज्ञप्ति जारी गर्दै दाङ–२ मा आफ्नो पार्टीका उमेदवार अधिकारीसहित जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका प्रत्यक्षतर्फका उम्मेदवारलाई निष्क्रिय बनाएको जानकारी गराएका थिए । साथै, उनले आफ्नो पार्टीले एमालेका उमेदवारलाई निर्वाचनमा सहयोग गर्ने जानकारी दिएका थिए ।
सूचना जारी गर्दै जिल्ला संयोजक डाँगीले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा नेकपा एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमतिअनुसार दाङमा प्रत्यक्षतर्फ एमाले मेदवारलाई सहयोग गर्ने जानकारी गराएका थिए । दाङ–२ मा २३ जना उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेकामा अब २२ जना कायम भएका छन् ।