भोट चोर्न आउने चोरसँग सचेत रहन रवि लामिछानेको अपिल

बुधबार, ६ फाल्गुन २०८२

काठमाडौं—भोट चोर्न आउने चोरसँग सचेत रहन रवि लामिछानेले अपिल गरेका छन् ।

सुदुरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले हामीविरुद्ध यिनिहरू आए भने गरिबको वस्तीमा डोजर लगाउँछन् भनेर भ्रम सृजना गर्दै भोट चोर्न आउनेसँग सचेत रहन अपिल गरेका हुन् ।

पुराना दलले ३५-३५ बर्षसम्म जनताको सपनामा डोजर चलाएको आरोप लगाउँदै आफूहरु सपना पुरा गर्न आएकाले सहयोग गर्न अनुरोध गरेका छन् ।

भाषणका क्रममा उनले मतदातालाई विशेषगरी चार कुरा भने।

पहिलो, भारतमा रहेका सुदूरपश्चिमका जनतालाई यसपालि जसरी भए पनि मतदान गर्न उपस्थित गर्न उनले अनुरोध गरे।

भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध छ। परदेशको भूमिमा सजिलो छैन। कामको चापाचाप छ परिवार पाल्नुपर्ने बाध्यता छ। तर छुट्टि मिलाएरै भए पनि भोट हाल्न आउनुहोला। देश बदल्नुपर्ने छ, उनले भने।

यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको उनको भनाइ थियो।

चुनाव पहिला पनि भएको हो। कुनै न कुनै नेताले सँधै जितेकै हो। तर सधैँ नेताले जिते जनताले कहिल्यै जितेनन्। यसपालि जनता जिताउने हो, उनले भने, व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन। इतिहास बदल्ने सोच लिएर आएका छौ। मेरो राजनीतिक आकांक्षा अरू कसैको राजनीतिक आकांक्षा ठूलो कुरो होइन देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपालि आएका छौं।

सुदूरपश्चिमका मतदातालाई उनले यसपालि मत नबाँढ्न अनुरोध गरे।

पुराना राजनीतिक दलहरूप्रति आस्थावान साथीहरु पनि हुनुहोला। तपाईंका पार्टीका लागि तपाईंको निष्ठालाई म सम्मान गर्छु। तर देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिनुपर्ने बेलामा तपाईंले कुनै दिन भन्न पाउनुहुनेछ कि यो देशको परिवर्तनमा मेरो पनि लगानी छ। मेरो पनि भोट छ यो त्यही बेला हो, उनले भने।

उनले रास्वपामा रवि र बालेन एक ठाउँमा उभिएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्न पनि मतदाताहरूलाई अनुरोध गरे।

अरू दल र रास्वपा पनि भोलि के हुन्छ म भन्न सक्दिनँ तर आफ्नै हालतले इतिहास लेख्ने यो अवसर यो देशले फेरि कहिले पाउँछ पाउँदैन थाहा छैन। त्यसकारण यो अवसर ऐतिहासिक हो। देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन।अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनुपर्छ। म यति भन्न आएको हुँ, सभापति लामिछानेले भने।