रास्वपाकी संस्थापक प्रदेश सभापति नेपाली कांग्रेसमा प्रवेश
काठमाडौं—रास्वपाकी संस्थापक प्रदेश सभापति नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
रवि लामिछानेले पार्टी घोषणा गर्दा मधेश प्रदेशको संस्थापक सभापति बनेकी ममता शर्मा पार्टीले पैसामा टिकट विक्रि गरेको आरोप लगाउँदै कांग्रेस प्रवेश गरेकी हुन् ।
मनिष झा र अमरेशकुमार सिंहले मोटो रकम लिएर मधेशमा टिकट वितरण गरेको उनको आरोप छ । कांग्रेस प्रवेश गर्नु अघि उनले रास्वपाबाट राजीनामा दिएकी थिइन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भएर पार्टीमा आवद्ध भएकी थिएँ । तर फागुन २१ गतेको निर्वाचनमा पार्टीले अवलम्बन गरेको पदति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरित भएको पाएँ ।’
उनले रास्वपामा दिनरात खटिएका क्षमतवान सदस्यहरुको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको आरोप लगाएकी छन् ।
रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णय भएकाले यस्तोमा साक्षी बसेर मौन रहिरहन नसकेको भन्दै राजीनामा दिएको बताएकी छन् ।
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको पाएपछि आत्मसम्मान र राजनीतिक मूल्यमाथि नै आँच आउने परिस्थिति बन्यो,’ उनले भनेकी छन्, ‘यी सबै क्रियाकलापहरुको साक्षी बसेर मौन रहिरहन असमर्थ भएकाले राजीनामा दिएकी छु ।’